
बुटवल । लुम्बिनी प्रदेश सरकारले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा गाभेको छ ।
प्रदेश मन्त्रिपरिषद् बैठकले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा गाभ्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई भने सामाजिक विकास मन्त्रालयबाट अलग्याउने निर्णय गरेको छ ।
सकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिले प्रदेश मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय गाभ्ने र युवा तथा खेलकुद मन्त्रालय भने अलग बनाउने निर्णय गरेको बताउनुभयो ।
यस्तै, सरकारले कार्यविभाजन नियमावली हेरफेर गरेको छ । कार्यविभाजन नियमावली २०७९ को अनुसूची १ र २ लाई हेरफेर गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेशको राजश्व बढाउने आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको अध्यक्षतामा कार्यदल बनाउने निर्णय गरेको छ ।
बैठकले प्रदेशस्तरीय मदरसा शिक्षा समन्वय समितिको उपाध्यक्ष महशुद खाँलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सरूवा भएर लुम्बिनी प्रदेशमा आएका डा.रामेश्वर देवकोटालाई पाल्पा अस्पतालमा कामकाजका लागि खटाउने निर्णय गरेको मन्त्रि पन्थिले बताउनुभयो ।





