कोहलपुर । कोहलपुर नगरपालिकाले राष्ट्रिय खेलाडी पुजा रानालाई सम्मान गरेको छ । खेलाडी रानालाई नगद ५१ हजार तथा प्रमाणपत्रसहित सम्मान गरेको हो ।
साफ महिला फुटबल प्रतियोगितामा बंलादेशसँग पराजित हुँदै नेपाली टोली उपविजेता भएको थियो । कोहलपुरका नगर प्रमुख पूर्णप्रसाद आचार्यले राष्ट्रको पहिचान र गहनाको रुपमा खेलाडीहरुले देशको नाम उच्च राखेको बताउनुभयो ।
उहाँले स्थानीय स्तरमा खेलाडीहरुको उत्पादनमा पछिल्लो समय कोहलपुर नगपालिकाले विद्यालयस्तरका खेल तथा गोल्ड कप, वडास्तरीय फुटबल, क्रिकेट र भलिबल जस्ता खेलहरु आयोजना गरिरहेको बताउनुभयो ।
नगर प्रमुख आचार्यले खेलाडीहरुको आत्मबल र उहाँहरुको छमताको सम्मान गर्दै भावी दिनहरुमा यसरी नै खेलाडीहरुको सम्मान गरिने उल्लेख गर्नुभयो । यस्तै कोहलपुर नगर उपप्रमुख संगिता सुवेदी पौडेलले कोहलपुरको चेलीलाई यसरी सम्मान गर्न पाउँदा हर्षित तुल्याएको बताउनुभयो ।