
कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिकामा दुई दिने थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता एवं संस्कृति संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन कार्यक्रम हुने भएको छ ।
थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता एवं संस्कृति संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यले यही कार्तिक २१ र २२ गते दुई दिने कार्यक्रम गरिने भएको हो । राष्ट्रिय थारु कलाकार मञ्चले मंगलबार पत्रकार सम्मेलन गरेर कार्यक्रम गरिन लागिएको जानकारी दिएको छ ।
मञ्चका अध्यक्ष बिनोथ चौधरीले थारुहरुको मौलिक कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रमका लागि विभिन्न स्थानीय तहहरुसँग समन्वय सहकार्य गरिएको आयोजकको भनाई छ ।
कार्यक्रममा प्रतियोगिताका लागि करिब २० देखि २५ वटा टिम सहभागि हुनुका साथै अन्य सांस्कृतिक प्रस्तुतिहरु रहने जनाइएको छ । दर्शकको सहजताका लागि साविकको बैजनाथ गाउँपालिका रहेको बनकट्वामा हुने अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा राष्ट्रिय चर्चित कलाकारहरुको समेत प्रस्तुति रहनेछ ।





