नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकामा संचालन भएको थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता एवं संस्कृति संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन कार्यक्रममा बैजनाथ-२ डिगिया गाउँ प्रथम भएको छ ।
गाउँपालिकाको वडा नं-५ को बनकट्वामा भएको प्रतियोगितामा यो समूहद्वारा प्रस्तुत हुर्दुङ्ग्वा नाच प्रथम भएको थियो । यस्तै श्री नयाँ सांस्कृतिक क्लब बैजनाथ-५ छमनिया दोस्रो भएको छ । यसले सखिया नाच प्रस्तुत गरेको थियो ।
यसैगरी महिला एकता जागरण मंच, राप्ती सोनारी-६ पदनाह तेस्रो हुन सफल भएको छ भने दङ्पुरुवा गाउँ, बैजनाथ- ३ सान्त्वना स्थान प्राप्त गर्न सफल बनेको छ । मंचले छोक्रा नाच र हुर्दुङ्ग्वा नाच प्रस्तुत गरेको थियो ।
कार्यक्रममा लोक गायिका सोमती थारु, महालोक गायक मनिराम करियामगरिया, गायक दर्पण कुसुम्याले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय कलाकार राज कुश्मी, सोनु कुश्मी, महालोक गायक करियामगरिया, कुसुम्या, सुनिता दहित, प्रदिप थारु, मोडेल सजिना थारुसमेतको प्रस्तुती रहेको थियो ।
१७ वटा नाचको सहभागिता रहेको कार्यक्रमलाई दुई हजारबढी दर्शकले अवलोकन गरेको मञ्चकी उपाध्यक्ष श्रीदेवी थारूले जानकारी दिनुभयाे । राजन चौधरी र महेश चौधरीले संचालन गर्नुभएको कार्यक्रम मञ्चका अध्यक्ष बिनोद चौधरी (रामु)को अध्यक्षतामा भएको थियो ।
समापनमा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला राेकाय, पर्यटन डिभिजन कार्यालय काेहलपुरका टंकनाथ खनाल, थारू कल्याणकारी सभाका केन्द्रीय पार्षद बिनाेद थारू, नेपाली काँग्रेस बैजनाथ सभापति देव बहादुर केसी, मञ्चकी सल्लाहकार भावना चाैधरीकाे उपस्थिति रहेकाे थियाे ।
थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता एवं संस्कृति संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्तिक २१ र २२ गते दुई दिन कार्यक्रम गरिएको थियो । राष्ट्रिय थारु कलाकार मञ्चले विभिन्न गाउँपालिकाको समन्वय सहकार्यमा कार्यक्रम गरेको हो ।