ठाउँ ठाउँमा फोहोरको डंगुर, उपमहानगर उदासीन, भएको कार्य चर्चा बटुल्न मात्र : सर्वसाधारण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा चासो नदेखाउँदा विभिन्न क्षेत्र दुर्गन्धित बन्दै गएको छ । उपमहानगरको सक्रियता शुन्यप्राय बन्दा सर्वसाधारण, उद्योगी, व्यापारी, व्यवसायीले जथाभावी फोहोर फालिरहेका छन् ।

यसरी जथाभावी फोहोर फाल्दा दुर्गन्धित बन्नुका साथै थुप्रिएर विभिन्न स्थान फोहोर डंगुर बन्दै गएको छ । जबकी फोहोर व्यवस्थापनका लागि नै बर्षेनी लाखौं रकम खर्च हुँदै आएको उपमहानगरपालिका भन्छ ।

उद्योगी व्यवसायीले यहाँका नालाहरुमा फोहोर फाल्दा नालाहरु भरिएका छन् भने दुर्गन्धित बन्दै गएका छन् । उचित रुपमा फोहोर व्यवस्थापन गर्न भन्दै आएको उपमहानगरले आफैले चासो नलिनु र सर्वसाधारणले ध्यान नदिनुले नेपालगञ्ज दुर्गन्धित बन्दै गएको यहाँका सर्वसाधारण भन्छन् ।

व्यवसायीक प्रतिष्ठानबाट निस्कने फोहोरलाई बाटो, नाला, गलीमा व्यवस्थापन गर्दा सर्वसाधारणलाई आवतजावतमासमेत सास्ती खेप्न परेको छ ।पश्चिमको मेडिकल हब (उपचार केन्द्र) को रुपमा समेत रहेको नेपालगञ्जका स्वास्थ्य संस्थाहरुबाट निस्कने फोहोर पटक पटक यत्रतत्र फालिएको देखिने गरेको छ ।

केही स्वास्थ्य संस्थाले मात्रै फोहोर व्यवस्थापनमा ध्यान दिएको सो क्षेत्रमा काम गर्ने संस्थाहरुले जनाएका छन् । स्वास्थ्यजन्य फोहोर जथाभावी फाल्दा विभिन्न रोगजन्य संक्रमणको जोखिम बढ्दै जान्छ । तर यसतर्फ सरोकारवालाको ध्यान नै पुग्न देखिँदैन ।

फोहोर व्यवस्थापनका लागि यहाँका अगुवाहरुले बेला बेला खबरदारी गर्दासमेत उपमहानगर बेखबर बन्छ । केही दिन अगाडी नेपालगञ्जका अर्ष साहिलले सामाजिक संजालमा चर्चा बटुल्न र भाइरल हुनका लागि मात्र स्थानीय सरकारले विभिन्न कार्यहरु गरिरहेको भन्दै रोष व्यक्त गर्नुभएको थियो ।

फोहोरको डंगुरकै कारण आफ्नो परिवारको तीन जना बिरामीसमेत परेको साहिलले लेखेका छन् । फोहोर उठाउन बारम्बर वडा कार्यालयलाई जानकारी गराउँदा पनि ध्यान नदिएको साहिलको भनाई छ । यस्तै यहाँका उद्योगीहरुले उद्योगीबाट निस्किएको फोहोर दोंद्रा नालामा फाल्ने गरेका छन् ।

दुईदिन अघि मात्रै सो नालामा व्यवसायबाट निस्किएको फोहोर गाडीमा लगेर फाल्न लागेको फोटो सार्वजनिक भएको थियो । नेपालगञ्ज वडा नं-१७ का स्थानीय युवा तथा महेन्द्र बहुमुखि क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सदस्यसमेत रहनुभएका अभिनव बर्मा (शुशिल बर्मा) ले नालामा फोहोर फाल्ने कार्यलाई रोकेर सामाजिक संजालमार्फत सार्वजनिक गर्नुभएको थियो ।

यसैगरी नेपालगञ्ज वडा नं-४ का निवासी पशुपति दयाल मिश्राले फोहोरको डंगुर व्यवस्थापनमा उपमहानगरले ध्यान दिन अनुरोध गर्नुभएको थियो । घना बस्ती क्षेत्र र नजिकै रहेको विद्यालयका विद्यार्थीहरुलाई फोहोरले दुर्गन्धित बनाएको उहाँले लेख्नुभएको थियो ।

नेपालगञ्जको फोहोर व्यवस्थापन देखिएको समस्या सार्वजनिक गर्ने प्रतिनिधिपात्र मात्रै हुनुहुन्छ । फोहोरको डंगुर बनेको नेपालगञ्जको विभिन्न ठाउँहरुमा देख्न सकिन्छ । उपमहानरपालिकाले ठुलो मात्रामा रकम खर्च गर्ने गरिएको दाबी गरेपनि चासो, तदारुक्ता नदेखाउँदा समस्या यस्तो भएको अगुवाहरुको भनाई छ ।

Previous articleडिजल र मट्टीतेलको मूल्य बढ्यो
Next articleनेपालगञ्जमा ६५ करोडको लागतमा नेपालगञ्जमा पाईप उद्योग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here