विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी

नेपालगञ्ज । विश्व म्याराथन मञ्चमा नेपालको दावेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८ मतले पछाडि पर्दा वर्ल्ड कंग्रेस आयोजनाको अवसर गुमाउन पुगेको छ ।

विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को २५ औं वर्ल्ड कंग्रेस आयोजनाका लागि नेपालगन्ज म्याराथनले नेपालमा आयोजना गर्न दावेदारी प्रस्तुत गरेको थियो ।

नर्वेले ८५ मत पाउँदा नेपालका तर्फबाट नेपालगन्ज म्याराथनले ६७ मत प्राप्त गर्न सफल भयो । भियतनामको हनोइमा जारी २४ औं वर्ल्ड कंग्रेसका दौरान शनिबार भएको मतदान प्रक्रियाबाट २०२६ मा हुने पच्चीसौं वर्ल्ड कंग्रेस नर्वेमा हुने निर्णय गरियो ।

‘दस मिनेटको भिडियो प्रस्तुतिले सबैलाई नेपालप्रति लोभ्यायो ।,’ नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय समुदायमा केही लबिङ पनि जरुरी हुँदो रहेछ, त्यसमा हामी चुक्यौं ।’

नर्वेले आसन्न कंग्रेस आयोजनाको अवसर पाएपनि सभाहलमा नेपालले धेरैको सहानुभूति बटुल्न सफल भएको ठकुरीले अनुभुती सुनाउनुभयो ।

‘नेपाललाई विश्वमञ्चमा नोटिस गराउन सफल भइयो, यसमा खुशी लागेको छ ।,’ ठकुरीले भन्नुभयो, ‘प्रयास गर्नेले नै जित्ने हो, हामीले एक कदम अगाडि बढेका छौं, सबैको मायाले यो उर्जा मिलेको हो, नेपालगन्ज म्याराथन सम्बद्ध सबैप्रति कृतज्ञ छु ।’

संसारमै लोकप्रिय इभेन्ट म्याराथनलाई आधिकारिकता दिने साझा संस्था एम्स हो । एम्समा आवद्ध हरेक देशका म्याराथन आयोजकहरु यतिबेला हनोइमा जम्मा भएका छन् ।

चार दिने कंग्रेसमा नेपालबाट यसपटक नेपालगन्ज म्याराथन र पोखरा म्याराथनले सहभागिता जनाएका छन् । धारा नेपालगन्ज म्याराथनको दशौं संस्करण यही मंसिर २२ गते शनिबार हुँदैछ ।

Previous articleनेपालगञ्जमा ६५ करोडको लागतमा नेपालगञ्जमा पाईप उद्योग
Next articleव्यवसायी गुप्ता सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here