
नेपालगञ्ज । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले म्याराथन प्रतियोगिताले विद्यार्थीहरुको बृत्ति विकासमा टेवा पुग्ने बताउनुभएको छ ।
रेडियो बागेश्वरी एफएमले शनिबार आयोजना गरेको “बागेश्वरी रन (मिनी म्याराथन) प्रतियोगिताको उदघाटन गर्दै मन्त्री अग्रवालले समय समयमा म्याराथन आयोजना गरिरहनु पर्नेमा जोड दिनुभयो ।
रेडियो बागेश्वरी ९४.६ मेगाहर्जले आफ्नो २१औं वर्षको सुरुवातलाई स्मरणीय बनाउन “हरियो विकल्प, उज्यालो भोली ‘ग्रीनर च्वाइस ब्राइटर टुमारो’ भन्ने नाराका साथ म्याराथन सम्पन्न गरेको हो ।
म्यारथनमा छात्रतर्फ महेन्द्र मावि नरैनापुरका अरविन्द यादव प्रथम हुनुभएको छ । उहाँले १८ः३९ः७५ मिनटमा दौड पुरा गर्नुभएको थियो । यस्तै जनता नमूना मावि सन्तकुटी खजुराका विजय खडका दोश्रो हुनुभएको छ ।
ज्ञानोदय नमुना मावि खजुराका खगेन्द्र भण्डारी भने तेश्रो हुनुभयो । यसैगरी छात्रातर्फ महेन्द्र मावि नरैनापुरकी गिता साहु प्रथम हुनुभएको छ । उहाँले २८ः०१ मिनटमा दौड पुरा गरी प्रथम हुनुभएको हो ।
यस्तै नेपालगञ्ज मोडेल एकेडेमी कारकाँदोकी धिरजा विष्ट दोश्रो हुनुभयो भने सोही विद्यालयमा अध्ययनरत आरुषी भट्टराई तेश्रो हुनुभयो । प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार प्रदान गरिएको छ ।
यसका साथै प्रथम, द्धितीय र तृतीय हुनेलाई प्लेटिनियम म्यानेजमेन्ट कलेजमा क्रमशः २ लाख ५० हजार, २ लाख र १ लाख ५० हजारको छात्रबृत्तिसमेत प्रदान गरिएको छ ।
यस्तै रन फर फनमा मंगल प्रसाद माबिका योगेन्द्र बुढाथोकी प्रथम हुनुभएको छ । अलि अहमद दोश्रो र विनोद वर्मा तेश्रो हुनुभयो । पुरस्कृतलाई रेडियोका कार्यकारी प्रमुख सिद्धार्थ पाण्डेले पुरस्कार प्रदान गर्नुभएको थियो ।
बिहान ७ः३० बजे नेपालगञ्ज–१०, आदर्शनगर पेट्रोल पम्पबाट सुरु भएर बी.पी.चोक, धम्बोझी, सेतु विक, त्रिभुवन चोक, हुलाक कार्यालय र शीतलनगर हुँदै पुनः पेट्रोल पम्प पुगेर समापन भएको थियो । समापनपश्चात् प्रत्येकलाई विरुवा समेत वितरण गरिएको थियो ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनका लागि रेडियो बागेश्वरीले केही दिनभित्रै “बागेश्वरी सबमिट“ कार्यक्रम पनि आयोजना गर्दैछ । जसमा तीन वटै प्रदेशका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने छ । म्याराथनमा बाँकेका २६ विद्यालयका १ सय १२ विद्यार्थी सहभागी भएका थिए ।






