नेपालगञ्ज । नेपालगञ्जमा क्रियाशील पत्रकार नवीन गिरी पुरस्कृत हुनुभएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघले आज आफ्नो ३२ र ३३औं साधारणसभामा गिरीलाई उत्कृष्ट पत्रकारका रुपमा पुरस्कृत गरेको हो ।
पत्रकारिताका माध्यमबाट लामो समयदेखि बाँकेको आर्थिक एवम् सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गिरीलाई नेपालगन्ज उद्योग बाणिज्य संघले उत्कृष्ट पत्रकारको रुपमा सम्मान गरिएको महासचिव भिम रानाभाटले बताउनुभयो ।
नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षता एवम् नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला एवम् कानुन मन्त्री आदेशकुमार अग्रवालको विशिष्ट आतिथ्यतामा सम्पन्न साधारणसभाको उद्घाटन शत्रमा मन्त्री अग्रवालले गिरीलाई ११ हजार रुपैयाँसहित माला र दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।
गिरी रेडियो नेपालका बाँके जिल्ला संवाददाता तथा बागेश्वरी पोष्ट र स्वास्थ्य पेज डटकममा प्रधान सम्पादक हुनुहुन्छ । उहाँ विगत दुई दशकदेखि सञ्चार कर्ममा क्रियाशील हुनुहुन्छ । यस्तै पत्रकार कृष्णराज अधिकारी सम्मानित हुनुभएको छ । अधिकारी पनि संघको साधारणसभामा सम्मानित हुनुभएको हो ।
नेपालगञ्जमा रहेर पत्रकारिताको माध्यमबाट बाँकेको समग्र क्षेत्रको उच्च योगदान पुर्याएको भन्दै संघले उहाँलाई माला, सम्मान पत्र र दोसल्लासहित सम्मान गरेको थियो । सम्मानले आफूलाई झन् पत्रकारितामा दृढ भई निष्पक्ष तवरले अघि बढ्ने हौसला मिलेको उहाँले प्रतिक्रिया दिनुभएको छ ।