कामका लागि भारत जाने बढे

नेपालगञ्ज । यस वर्षका ठूला चाडपर्व सकिएका छन् । बडादशैँ, तिहार ९दीपावली०, छठलगायत पर्व सकिएसँगै चाडबाड मनाउनकै लागि घर फर्किएकाहरू पुनः आफ्नो कर्मथलो फर्किन थालेका छन् ।

हाल सुदूरपश्चिमेलीका नाकाहरूमा यसरी रोजगारीका लागि छिमेकी राष्ट्र भारत फर्किनेहरूको भीड देख्न सकिन्छ ।

कैलालीको त्रिनगर भन्सार नाकाबाट हिजोआज दिनहुँ दैनिक एक हजारभन्दा बढी नेपाली रोजगारको लागि मुग्लान (भारत) गइरहेको सीमानाकास्थित सशस्त्र प्रहरी सीमा सहायता कक्ष (हेल्प डेस्क) ले जनाएको छ ।

यहाँबाट एक सातामा नौ हजार एक सय ४९ जना नेपाली भारतका विभिन्न सहरमा रोजगारीका लागि बाहिरिएका तथ्यांक छ ।

लामो समयदेखि भारतको रत्नागिरीमा रोजगारी गर्दै आउनुभएका कैलालीको मोहन्याल गाउँपालिकाका प्रदीप सार्कीले केही समयअघि चाडपर्व मनाउनैका लागि आफू घर आए पनि पुनः रोजगारीका लागि जान लागेकोे बताउनुभयो ।

उहाँले आफूले रत्नागिरीमा स्याउ टिप्ने काम गर्दै आएको बताउनुभयो । ‘हाम्रो देशमा काम पाउनै गाह्रो छ, पाइहाले पनि यहाँको कमाइले परिवारको खर्च धान्न मुस्किल पर्छ । त्यसैले रोजगारीका मुग्लान जानुको विकल्प छैन । यस्तै चाडपर्वमा घरपरिवार भेट्न आए पनि फेरि उतै जानुपर्छ’, सार्कीले भन्नुभयो ।

सोही नाकाबाट बाहिरिरहेका डडेल्धुराका गंगा महराले पनि बडादसैँमा टीका थाप्नुका साथै पारिवारिक भेटघाटका लागि घर आएको र चाडवर्प सकिएसँगै फेरि रोजगारीका लागि भारतको सुरत फर्किन लागेको सुनाउनुभयो ।

यस्तै, अछामका सन्तोष परियारले पनि रोजगारीका लागि भारतको मुम्बई गइरहेको बताउनुभयो । यसरी छिमेकी मुलुक भारत जाने नेपालीहरू कोही छोटो समयका लागि त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्छन् ।

कतिपयले खेतीपातीको काम सम्पन्न गरी अन्नबाली नभित्रिएसम्म भारतमा काम गर्न जाने र फसल प्राप्त हुने समयमा घर आउने गर्छन् । खेतीपाती नहुनेहरू भने लामो समयको अन्तरालपछि चाडबाड मनाउन घर आउने गरेका छन् ।

सुदूरपश्चिमका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका मानिस रोजगारीका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायतका ठूला सहरमा जाने गर्छन् ।

बिनाभिसा र रोजगारी सहजै प्राप्त हुने भएकाले पनि धेरैजसो नेपाली रोजगारीका लागि भारत जाने गरेको बताइन्छ । रासस

Previous article६ वर्ष पुगेपनि बनेन जमुनाहाको ‘लगेज स्क्यानर मेसिन’
Next articleबैकुण्ठधाम आध्यात्मिक महोत्सवको आम्दानी खर्च विवरण सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here