बैकुण्ठधाम आध्यात्मिक महोत्सवको आम्दानी खर्च विवरण सार्वजनिक

नेपालगञ्ज । बैकुण्ठधाम निर्माण सहयोगार्थ सञ्चालन गरिएको बैकुण्ठधाम आध्यात्मिक महोत्सवको आम्दानी खर्च विवरण सार्वजनिक गरिएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत आम्दानी खर्च विवरण सार्वजनिक गरिएको हो ।

सार्वजनिक विवरण अनुसार महोत्सवबाट दुई करोड २८ लाख सात हजार ६२७ रुपैयाँ आम्दानी भएको छ । जसमा महोत्सवमा कुल तीन करोड तीन लाख १५ हजार चार रुपैयाँ आम्दानी र ७५ लाख सात हजार ३७७ रुपैयाँ खर्च भएको छ ।

प्राप्त आम्दानीबाट खर्च कटाएर कुल दुई करोड २८ लाख सात हजार ६२७ रुपैयाँ बचत भएको महोत्सव मूल समारोह समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार दाताहरुबाट एक करोड २७ लाख ७३ हजार ११४ रुपैयाँ नगद प्राप्त, क्यूआरमार्फत २६ लाख ६३ हजार १६९ रुपैयाँ चेकमार्फत ८८ लाख ३४ हजार ६७४ रुपैयाँ र घोषणामार्फत ६० लाख ४४ हजार ४७ रुपैयाँ गरी तीन करोड तीन लाख १५ हजार चार रुपैयाँ आम्दानी वापत जम्मा भएको हो ।

विभिन्न शीर्षकमा ७५ लाख सात हजार ३७७ रुपैयाँ खर्च भएको श्रेष्ठले सार्वजनिक गर्नुभएको आयव्यय विवरणमा उल्लेख गरिएको छ । बैङ्कमा एक करोड ४५ लाख ९७ हजार ४२८ नगद रुपैयाँ जम्मा रहेको, घोषणा गरेको ६० लाख ४४ हजार ४७ रुपैयाँ उठ्न बाँकी रहेको र २१ लाख ६६ हजार १५२ हजार रुपैयाँ बराबरका प्राप्त भएको चेक साट्न बाँकी रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी जिन्सीतर्फ नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले डुडुवा गाउँपालिका वडा नम्बर ५ मा एक कट्ठा जग्गा र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दीपककुमार वर्माले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ मा २६ धुर जग्गा प्रदान गर्नुभएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

बैकुण्ठधाम निर्माणका लागि सहयोग जुटाउन बैकुण्ठधाम सिधनियाघाट व्यवस्थापन समितिले गत कार्तिक २२ देखि ३० गतेसम्म वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेलको प्रमुख वाचनसहित बैकुण्ठधाम आध्यात्मिक महोत्सवको आयोजना गरिएको थियो ।

Previous articleकामका लागि भारत जाने बढे
Next articleअस्ट्रेलियामा १६ वर्ष मुनिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here