
नेपालगञ्ज । हात्तीपाइले रोग निवारण सम्बन्धी आइडिए इम्प्याक्ट सर्भे (आई आईएस आई) कार्यक्रमका बारेमा नेपालगञ्ज वडा नं १२ मा अभिमुखिकरण गरिएको छ ।
वडा अध्यक्ष तरुण बज्राचार्यका अध्यक्षतामा भएको अभिमुखिकरणमा हात्तीपाइले निवारणका लागि राष्ट्रिय कार्यक्रमका बारेमा जानकारी गराइएको थियो ।
सो क्रममा कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाका प्रयोगशाला निरीक्षक राम बालक यादवले हात्तीपाइले निवारणका लागि सरकारले थालेको अभियान र सर्भेका लागि गरिने चरणहरुका बारेमा स्पष्ट पार्नुभएको थियो ।
हात्तीपाइले रोग पहिचानका लागि यस वडामा सम्भवत बुधबारदेखि सर्भे कार्यक्रम शुरु गरिनेसमेत प्रयोगशाला निरीक्षक यादवले जानकारी दिनुभयो । उहाँका अनुसार यो अभियान अन्तर्गत नेपालगञ्जका विभिन्न वडाहरुमा कार्यक्रम कार्यान्वयनमा रहेको छ ।
अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष बज्राचार्यले यो जोखिममा नेपालगञ्ज पनि रहेकाले सरकारले चालेको अभियानलाई प्रभावकारी बनाउन आवश्यक समन्वय सहाकार्य गरिने बताउनुभयो । उहाँले यहाँका स्थानीयले यो अभियानलाई सफल बनाउनसमेत साथ दिने बताउनुभएको थियो ।
स्वास्थ्य कार्यालयको समन्वयमा संचालन भएको अभियानअन्तर्गत अभिमुखिकरणमा नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका बिनोद बिसी, १२ नम्बर स्वास्थ्य चौकी प्रमुख आरती चौधरी, स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।





