
नेपालगञ्ज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालले हालै सम्पन्न उपनिर्वाचनले नेपाली काँग्रेसको आधार नबिग्रिएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रिजालले उपनिर्वाचनमा काँग्रेसको आधार हल्लिन्छ कि भन्ने जस्तो लागेको भएपनि त्यस्तो केही नदेखिएको बताउनुभएको हो ।
पूर्व मन्त्रीसमेत रहनुभएको नेता रिजालले काँग्रेस आधारमा भएपनि त्यसलाई बलियो बनाउनका लागि हामी आफै सक्रिय हुन जरुरी रहेको बताउनुभयो ।
एमालेसँग सँगै सरकारमा रहेको हुनाले त्यसको व्यवस्थापन चुनौती रहने भन्दै उहाँले सरकारका संयन्त्रलाई जनताका पक्षमा कसरी प्रयोग गर्ने भन्ने कुरामा केन्द्रीत हुनुपर्ने उहाँको भनाई छ ।
यसअघि एमालेका दुई पटक सरकारमा सहकार्य भएको अवस्थामा महत्वपूर्ण उपलब्धी भएको उहाँले बताउनुभयो ।
‘अहिले देशमा निराशा छ, अर्थतन्त्रका आधारहरु कमजोर छैनन,’ वरिष्ठ नेता रिजालले भन्नुभयो, ‘केही समयअघि तरलता देखिएको थियो तर अहिले अलि बढी भएर कर्जाको उपयोग नहुन थाल्दा सोचिएको जस्तो अझै कारोबार हुन सकेको छैन, त्यसलाई सुधार गर्न जरुरी देखिएको छ ।’
संविधान संशोधन गर्ने कुरामा हामीले जनताको आशालाई व्यवहारमा उर्तान सकेको खण्डमा सरकारप्रति जनताको भरोसा कायम रहने जसले संविधान संशोधनको परिस्थिति निर्माण गर्न सकिने, अन्य राजनीतिक दलहरुसँग सहकार्य गर्न सकिने अवस्था बनाउन सकिने नेता रिजालले उल्लेख गर्नुभयो ।
सहकारीको रकम अपचलनको कुरामा उहाँले केहीले हिँजोका दिनमा पनि अपचलन भएकै थियो, हामीले गर्दा कानून उल्लघंन भयो भन्ने कुराहरु भनेको सुनेको बताउँदै पहिलो कुरा कानूनबिरुद्ध कोही जान नहुने र हिँजो गएका थिए भन्दैमा अहिले त्यस्तो गर्न पनि नपाइने भएकाले कानूनको पालना सबैले गर्नुपर्ने उहाँको भनाई छ ।
सहकारी प्रकरणमा अहिले छानबीन भइरहेकाले मैले कसैलाई आरोप लगाउन नमिल्ने बताउँदै नेता रिजालले सामान्यरुपमा बुझ्दा पनि कहिँ न कहिँ गोलमाल गरेको आम सर्वसाधारणलाई समेत देखिएको बताउनुभयो । यहाँसम्म कि रास्वपाभित्रै यो बिषयमा फरक फरक बिचार देखिएको छ ।
युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उहाँले अन्त्यमा अवसरबादी (कारोबारी) गठबन्धनभन्दा पनि सिधान्तबादी गठबन्धनले लोकतन्त्रलाई बलियो बनाउन सकिने बिचार राख्नुभयो ।
सम्मेलनमा नेपाली काँग्रेस बाँकेका कार्यबाहक सभापनि गोपाल प्रसाद अधिकारी, जिल्ला सचिव सुधान्सु कोइराला, युनियनका पूर्व केन्द्रीय सदस्य उमा थापा मगर, युनियनका अग्रज नेता निरज गौतम, युनियन लुम्बिनी प्रदेश सदस्य गौरब गिरी, युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन ओली, काँग्रेस बाँके क्षेत्र नं-१ का सभापति पोषण केसी, पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, काँग्रेस लुम्बिनी प्रदेश प्रचार प्र्रसार समिति सदस्य रबिन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियो ।





