गहुँ छर्ने सिजनमा बाँकेमा डिएपी मलको अभाव

नेपालगञ्ज । बाँकेमा गहुँ छर्ने सिजनमा डिएपी मलको अभाव भएको छ । बाली लगाउने बेला मल नपाएपछि जिल्लाका अधिकांश किसान तनावमा छन् ।

बाँकेका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय नेपालगञ्जले डिएपी मल उपलब्ध गराउँदै आएको छ । कार्यालयमा यस वर्ष डिएपी मलको अभाव रहेको कार्यालयले जनाएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगन्जका शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले गहुँको सिजन सुरु भएका कारण डिएपी मलको माग उच्च भए पनि मौज्दात अत्यन्तै न्यून भएका कारण माग अनुसार परिपूर्ति गर्न नसकिएको बताउनुभयो ।

श्रेष्ठका अनुसार बाँकेमा करिब पाँच हजार मेट्रिक टनभन्दा बढी डिएपी मल आवश्यक हुन्छ । यस आर्थिक वर्षमा लक्ष्य र माग २५ सय मेट्रिक टनको भए पनि जम्मा ६८५ मेट्रिक टन मल मात्र मौज्दात छ ।

नेपालमा मल ल्याउने जिम्मा पाएको आइपिएलले डिएपी नल्याउँदा जताततै समस्या देखिएको उहाँले बताउनुभयो । बाँकेमा रहेका आठ स्थानीय तहमा सूचीकृत सहकारी संस्थाले स्थानीय तहकै सिफारिसमा कम्पनीको कार्यालयबाट मल लैजाने र किसानलाई बिक्रीवितरण गर्दै आएका छन् ।

नेपालगञ्जमा २६ वटा, कोहलपुरमा चार वटा, नरैनापुरमा तीन वटा, राप्ती सोनारीमा १५ वटा, डुडुवामा २५ वटा, बैजनाथमा १२ वटा, खजुरामा २३ वटा र जानकीमा १७ वटा गरी कुल १२५ वटा सहकारीले मल बिक्री वितरण गर्ने गरेका छन् ।

कम्पनीको नेपालगञ्ज कार्यालयमा डिएपी मलको मौज्दात अत्यन्तै न्यून रहे पनि युरिया र पोटास मलको भने मौज्दात रहेका कारण माग अनुसार परिपूर्ति गर्न सकिने कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यस वर्ष छ हजार मेट्रिक टन युरिया, २५ सय मेट्रिक टन डिएपी र तीन सय मेट्रिक टन पोटासको लक्ष्य र माग गरिए पनि युरिया चार हजार २० मेट्रिक टन, डिएपी ६८५ मेट्रिक टन र पोटास ७५ मेट्रिक टन प्राप्त भएको छ ।

हालसम्म युरिया दुई हजार ९४९ मेट्रिक टन, डिएपी ९८५ मेट्रिक टन र पोटास ६६ मेट्रिक टन बिक्रीवितरण भइसकेको छ ।

Previous articleबारबर्दिया वडा नं-२ बाल विवाहमुक्त घोषणा
Next articleमानव अधिकार दिवसको अवसरमा त्रिभुवन चोकमा दिप प्रज्वलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here