
नेपालगञ्ज । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपालगञ्जको त्रिभुवन चोकमा दिप प्रज्वलन गरिएको छ । ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज बाँके शाखादले चोकमा दिप प्रज्वलन गरेको हो ।
समाज बाँकेका अध्यक्ष घनश्याम कुमार वैश्यको सभापतित्वमा भएको कार्यक्रम कार्यक्रम शाखा सचिव प्रकाश नेपालीले संचालन गर्नुभएको थियो भने भने कार्यक्रमको औचित्यका बारेमा सभापति बैश्यले नै प्रस्ट पार्नुभएको थियो ।
बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा भन्ने विषयमा केन्द्रित रहेको थियो । देशबाट उर्जाशील जनशक्ति रोजगारी, पठनपाठनको शिलशिलामा र अन्य कार्यका लागि विदेशिने क्रम बढिरहेको छ । जुन हाम्रो जस्तो अल्पविकसित राष्ट्रको लागि चुनौतिको विषयमा चर्चा गरिएको थियो ।
श्रम मन्त्रालयको प्रतिवेदनका अनुसार विदेश पलायन हुने युवाहरु दिनप्रतिदिन बढ्दै गएका छन् । अन्तर्राष्ट्रिय स्तरमा पनि युवाशक्तिलाई युद्धमा प्रयोग गरिएको र हालै केही देशहरुमा भएको युद्धले विश्व समुदाय र मानव जगतका लागि चुनौतिपूर्ण रहेको देखिएको छ । यो कार्य रोकिनुपर्ने समाज बाँकेको माग छ ।
संसार भरका सबै मानवहरुमा शान्ति, सहिष्णुता र भाइचाराको सम्बन्ध हुन आवश्यक रहेको र यसबाट मानवअधिकार, लोकतन्त्र, शान्ति र अहिंसाको परिकल्पना गर्न समाजको आह्वान छ ।





