राप्ती सोनारीमा लैंङ्गिक हिंसाबिरूद्वको अभियानः विद्यालयस्तरमा सचेतना प्रदान

राप्ती सोनारी । बाँकेको राप्तीसोनारीमा संचालन भएको लैंङ्गिक हिंसाबिरूद्वको १६ दिने अभियान मंगलबार सकिएको छ ।

लैंङ्गिक हिंसाबिरूद्वको समुदायस्तरमा सचेतना बृद्वि गर्ने कार्यक्रमहरू १६ दिनसम्म संचालन गरिएको थियो ।

समुदायदेखि विद्यालयस्तरसम्म विविध सचेतनामूलक कार्यक्रम गरिएको राप्ती सोनारी गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सम्झना दर्लामीले जानकारी दिनुभयो ।

यसक्रममा गाउँपालिकाका ९ वटै वडाका विद्यालयस्तरमा लैंङ्गिक हिंसाबिरूद्वमा अभिमुखिकरण कार्यक्रम गरिएको थियो । खासगरी विद्यालयका बालबालिकाहरूलाई यसबारेमा जानकारी प्रदान गरिएको शाखा प्रमुख दर्लामीले बताउनुभयो ।

साथै सचेतनामूलक सूचना प्रकाशन, पर्चा पम्प्लेट वितरण गरिएको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाईने दिवसको यस वर्षको नारा ‘हामी सबैको प्रतिबद्धताः लैंङ्गिक हिंसा अन्त्यका लागि ऐक्यवद्वता’ भन्ने रहेको थियो ।

औपचारिक कार्यक्रम गरेर उद्घाटन गरिएको दिवस मंगलबार औपचारिक कार्यक्रम गरेर नै समापन गरिएको हो । वडा नं-९ को ढकेरीमा रहेको गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा उक्त समापन कार्यक्रम गरिएको थियो ।

समापनमा जिल्ला समन्वय समिति बाँकेको उपप्रमुख सीता कार्कीले लैंङ्गिक हिंसाबिरूद्व हामी सबैको सक्रियता हुनु जरूरी रहेको बताउनुभयो । कार्कीले लैंङ्गिक हिंसा गर्ने व्यक्तिलाई समयमै सार्वजनिक गर्न सकिए त्यसबाट अन्यलाई हुने चेतले त्यस्तो कार्य गर्न नहुने समुदायमा सचेतना फैलाउने बताउनुभयो ।

‘हिंसाबिरूद्व हामी आफै जागरुक हुन जरूरी छ ।,’ उपप्रमुख कार्कीले भन्नुभयो, ‘कसैले गर्दैछ र अरू हेरेर बस्ने हो भने न्यूनिकरण गर्न गाह्रो हुन्छ । जो जसको अगाडी यस्तो हुन्छ भने बिरोध गर्नुपर्छ ।’

गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारूको अध्यक्षतामा भएको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तप्त पौडेलले हिंंसाबिरूद्व घरघरबाट उठ्नुपर्ने बताउनुभयो । अध्यक्ष पौडेलले आफ्नै टोल छिमेक हो भनेर हेरेर बसिए अझै बढ्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य, ९ वटै वडाका जनप्रतिनिधि, टोल विकास संस्था पदाधिकारी, संघ संस्थाका पदाधिकारी, प्रतिनिधि, प्रधानााध्यायापक, शिक्षकलगायतको उपस्थिति रहेको थियो ।

Previous articleमानव अधिकार दिवसको अवसरमा त्रिभुवन चोकमा दिप प्रज्वलन
Next articleरुकुमपूर्वमा अटो रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here