
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा आइतबारदेखि सातौं राष्ट्रपति रनिङ शिल्ड छनौट तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।
पुष ९ गतेसम्म हुने प्रतियोगितालाई जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी र जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले संयुक्तरुपमा गर्नुभएको थियो ।
नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटनमा प्रमुख अतिथि चौधरीले पढ्ने र खेल्ने उमेरमा अहिले धेरै विद्यार्थीले नशा सेवन गरिरहेको अवस्था रहेको बताउँदै पढाई र खेलकुदमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
जानकीका अध्यक्ष खाँले विद्यालयको नतिजा सुधारका लागि आवश्यक बजेट बिनियोजन गरेको बताउनुभयो । उहाँले त्यतिले मात्रै नभएर शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पालिकाका ११ वटा विद्यालय सहभागी प्रतियोगिताको पहिलो दिन दुई समूहमा छात्रहरुको भलिबल खेलमा मावि बन्जारेगाउँ र ब्राइटस्टार इंग्लिस स्कुल विजेता भएका छन् । यस्तै छात्राहरुको कवड्डीतर्फ समूहमा मावि भटनपुरवा, ब्राइटस्टार, शिवपुरी मावि र जानकी मावि विजेता भएका छन् ।
कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष एव गाउँपालिका प्रवक्ता टिकानाथ यादव, सामाजिक विकास समितिका संयोजक राम आचल धोवी, नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, पूर्व सभापति किरण कोइराला, महासमिति सदस्य लक्ष्मी नारायण शाह, नक्की खाँ, नेकपा एमालेका प्रतिनिधि, माओवादी केन्द्रका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाका प्रमुखहरुले बोल्नुभएको थियो ।





