
नेपालगञ्ज । लुम्बिनी कप महिला फुटवल आगामी फागुन १९ गतेदेखि नेपागञ्जमा हुने भएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटवल संघको सहकार्यमा नेपालगञ्जस्थित महेन्द्र रंगशालामा हुने उक्त फुटवलमा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुने छन् ।
अखिल नेपाल फुटवल संघ (एन्फा)ले आयोजकलाई सोमवार पत्रमार्फत लुम्बिनी कप महिला फुटवल संचालनको लागि २०८१ फागुन १९ देखि २९ गतेको समय दिएको बाँके जिल्ला फुटवल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो ।
यस प्रतियोगिताले बाँके र यस क्षेत्रमै नयाँ प्रतिभाहरु आउने विश्वास व्यक्त गर्दै अध्यक्ष शाहीले बाँके जिल्ला फुटवल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको बताउनुभयो ।
यसअघि गत मंसिर १६ गते नेपाली महिला फुटवल राष्ट्रिय टिमकी पहिलो क्याप्टेन रमा सिंह र वर्तमान क्याप्टेन एन्जिला तुम्वापो सुव्वाले संयुक्त रुपमा राजधानी काठमाण्डौंमा लुम्बिनी कपको लोगो सार्वजनिक गर्नुभएको थियो ।
लोगोमा शान्तिका अग्रदुत भगवान गौतमवुद्ध र महिला फुटवल खेलाडीको इमेज राखिएको छ भने नेपाली राष्ट्रिय झण्डाको रङ्ग नीलो र सिम्रिक रातो प्रयोग गरिएको छ ।
सो अवसरमा दुवै क्याप्टेनले खुशी व्यक्त गर्दै प्रतियोगिता महिला फुटवलको विकासका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले एन्फालाई विशेष धन्यवाद दिंदै बाँके जिल्ला फुटवल संघ र अन्तरालको संयुक्त प्रयासवाट लुम्बिनी कपले साकार रुप लिन लागेको बताउनुभयो ।





