राप्ती सोनारीमा १७ औं राष्ट्रपति रनिङ शिल्ड तथा सातौं अध्यक्ष कप प्रतियोगिता सुरु

राप्ती सोनारी । बाँकेको राप्ती सोनारी गाउँपालिकामा १७ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तथा सातौं राप्ती सोनारी गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।

वडा नम्बर ८ स्थित शिवशक्ति माध्यमिक बिद्यालयमा बुधबारदेखि १७ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तथा सातौं राप्तीसोनारी गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितालाई गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले राप्तीसोनारी गाउँपालिका खेलकुदको क्षेत्रमा उर्वरभूमि रहेको बताउनुभयो ।

उहाँले राप्ती सोनारीबाट थुप्रै खेलाडीहरुले विभिन्न विधामा राष्ट्रिय पहिचान बनाएको उल्लेख गर्नुभयो । ‘राप्ती सोनारीका थुप्रै खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पहिचान दिलाउनु हाम्रा लागि गौरवका कुरा हो,’ उहाँले भन्नुभयो ।

प्रतियोगिताबाट विजयी भएका खेलाडीहरुले जिल्लामा पनि उत्कृष्ट प्रदर्शन गर्दै पदक भित्र्याउने उहाँले आशा राख्नुभयो । उहाँले खेलकुदका क्षेत्रमा पालिकाले विद्यालयदेखि नै खेल प्रशिक्षणका कार्यक्रमहरुलाई अगाडि बढाएको पनि बताउनुभयो ।

पूर्व कृषि मन्त्री प्रेमबहादुर भण्डारीले विद्यालय तहमा आयोजना हुने यस्ता प्रतियोगिताले खेलकुद क्षेत्रमा लाग्ने विद्यार्थीहरुलाई प्रेरित गर्ने बताउनुभयो । उहाँले प्रतियोगितालाई स्वस्थ प्रतिस्पर्धाका रुपमा लिन पनि आग्रह गर्नुभयो ।

यस्तै राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले पनि खेलकुदका क्षेत्रमा राप्तीसोनारीले आफ्नो पहिचान स्थापित गरेको बताउनुभयो । उहाँले खेलकुदको क्षेत्रमा सम्भावना देख्ने विद्यार्थी भाइबहिनीहरुको प्रतिभा प्रष्फुटन गर्ने अवसरका रुपमा पनि यो प्रतियोगितालाई लिन सकिने कुरामा जोड दिनुभयो ।

शिवशक्ति माध्यमिक बिद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओपेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका खेलकुद विकास समिति संयोजक तेजबहादुर सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षासँग सम्वन्धित शिक्षक संघ संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु, राजनीतिक दलका नेता, सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिहरु, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी विद्यालयहरुले मार्च पास गरेको बिद्यालयका प्रधानाध्यापक पुष्कर खड्काले बताउनुभयो । प्रतियोगितामा ५४ विद्यालयका १ हजार ३ सय ३४ जना विद्यार्थी खेलाडीहरु प्रतियोगितामा सहभागी भएको प्रतियोगिताका संयोजक लेखराज वलीले जानकारी दिनुभयो ।

राप्ती सोनारीको खेलकुद विकास समितिको आयोजना तथा शिवशक्ति माध्यमिक बिद्यालय शम्शेरगञ्ज पेरानीको संयोजनमा आयोजित प्रतियोगिताको सांस्कृतिक कार्यक्रम, विभिन्न खेलमार्फत कला प्रस्तुत, तथा मौलिक नाज मयूर नाच, बालबालिकाहरुद्वार पञ्चे बाजा लगायत प्रस्तुत भएको थियो ।

Previous articleबाँकेको डुडुवामा डाँकाहरुको समूहद्वारा एक घरमा लुटपाट
Next articleजानकीको राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कपमा ब्राइट स्टार प्रथम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here