
नेपालगञ्ज । मानव बेचबिखन तथा ओसार पसारको जरो स्थानीय स्तरबाट नै नष्ट गर्न नेपालगञ्जका जनप्रतिनिधिहरु जुटेका छन् । मानव बेचनबिखन देशकै प्रमुख समस्याका रुपमा रहेपनि यसको नियन्त्रणका लागि सक्रियता बढ्न नसकेकाले नेपालगञ्जका जनप्रतिनिधिहरु निर्मुल पार्न जुटेका हुन ।
मानव बेचबिखन तथा ओसार पसारको जोखिममा रहेका वडाहरुका जनप्रतिनिधि एकजुट भएर नियन्त्रणका लागि आवश्यक प्ररामर्श तथा ज्ञान लिन सक्रिय भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका तथा माइती नेपालको संयुक्त आयोजनामा नेपालगञ्जमा शुरु भएको दुई दिने कार्यशालामार्फत जनप्रतिनिधिहरु मानव बेचबिखनका बिरुद्ध सक्रिय भएका हुन ।
कार्यशालामा मानव बेचनबिखन तथा ओसार पसारबीचको भिन्नता र समानता, जोखिमको अवस्था र यसका लागि वडास्तरबाट गर्न सकिने कार्यक्रम तथा पहलका बारेमा आवश्यक छलफल तथा प्ररामर्श गरिनेछ । कार्यशालालाई उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले मानव बेचनबिखनको जालो ठुलो भएको र यसको नियन्त्रणका लागि एक जनाको पहलले नपुग्ने भएको हुँदा सबै जनप्रतिनिधिहरुको सक्रियता आवश्यक रहेको बताउनुभयो ।
उपमेयर थापाले समुदायमा मानव बेचबिखन तथा ओसार पसार भईरहेको भएपनि हामीलाई जानकारी नहुने अवस्था रहेको उल्लेख गर्दै यस्ता कार्यको तत्काल जानकारी पाउने वातावरण निर्माण तथा कानूनी कारवाहीका लागि नेतृत्व गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । कार्यशालामा नेपालगञ्जको वडा नं १, २, ४, १०, १२, १३, १४, १५, १६ र १७ का जनप्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा वडा अध्यक्ष सुनिल सिंह हमाल, बिरेन्द्र शाह, ओमकारनाथ मिश्रा, मोहम्मद हनिफ जोलह, कार्यपालिका सदस्य, वडा सदस्य, महिला तथा बालबालिका शाखाका प्रतिनिधि र वडाका कर्मचारीहरुको सहभागिता रहेको छ ।
यु एस एड, विनरक र युके एडको सहयोगमा हाम्रो सम्मान परियोजना अन्तर्गत नेपालगञ्जमा गरिएको कार्यशालालाई प्रकाश उपाध्याय, विनरककी कमला पन्त र युवराज पोखरेलले सहजीकरण गरिरहेको माइती नेपालका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो । कार्यशाला शुक्रबारदेखि सोमबारसम्म गरी तीन चरणमा संचालन भएको छ ।





