मानव बेचबिखन नियन्त्रणका लागि सहकार्य आवश्यक : मन्त्री तिमिल्सीना

नेपालगञ्ज । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सीनाले मानव बेचबिखन नियन्त्रणका लागि सबैको समन्वय सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

नेपालगञ्जमा शुक्रबार भएको अन्तरदेशीय कार्यशाला कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सीनाले सरकारले मात्रै चाहेर पनि नियन्त्रण गर्न असम्भव रहेका सबै क्षेत्रको सहभागिता महत्वपूर्ण रहेको बताउनुभएको हो ।

स्थानीय सरकारका रुपमा रहेका वडा, पालिका तथा स्वयं प्रदेश र संघले मानव बेचबिखन नियन्त्रणका लागि गर्नुपर्ने कार्यक्रमहरु संचालन गर्न नसकेको भन्दै यसका लागि तीनै तहको सरकार, सरकारी तथा गैरसरकारी संघ संस्था र सामाजिक अगुवाहरु मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

आफु मन्त्री भएदेखि सामाजिक हितको कार्यमा सहभागिता जनाउने र प्रदेश सरकारबाट हुने कार्यहरुमा आफुले गर्नसक्ने कार्य गर्नका लागि सुझाउन अनुरोध गर्दै मन्त्री तिमिल्सीनाले मानव बेचबिखन नियन्त्रणका लागि प्रदेश सरकार साथमा रहने प्रतिबद्धता जनाउनुभयो ।

यूएसएड, विनरक इन्टरनेशनलको साझेदारीमा माइती नेपाल नेपालगञ्जले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले जो जहाँ रहेका अगुवा, नेतृत्वले नेतृत्वदायी र प्रभावकारी भूमिका निर्वाह गर्नमा जोड दिए । आफ्नो मान्छे परेको भन्दै छुटाउने प्रवृतिले पनि कानून प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै यो कुरामा सबै सजग हुनुपर्नेमा वक्ताहरुले सुझाएका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेकी उपसंयोजक सिता कार्की, बाँकेका प्रहरी प्रमुख तुल बहादुर कार्की, विनरक इन्टरनेशनलकी सिता घिमिरे, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख द्धारिका अधिकारी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषी चौलागाई, माइती नेपालका निर्देशक विश्वराम खड्का लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा बाँकेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, नरैनापुरका अध्यक्ष इस्तियाक अहमद शाह, डुडुवाकी उपाध्यक्ष साहिदा बानो, सशस्त्र प्रहरीका डिएसपी तिर्थराज न्यौपाने, भारतको दिल्ली पुलिसका प्रतिनिधि, देहात संस्थाका प्रतिनिधि, नेपालगञ्जका विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागि कार्यक्रममा विनरककी कमला पन्तले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो भने कार्यक्रम माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाले संचालन गर्नुभएको थियो ।

Previous articleअनिल बिडिआरको निर्देशनमा चलचित्र ‘विदेश जा’ छायांकन हुँदै
Next articleराप्ती सोनारीमा राष्ट्रपति रनिङ शिल्ड : सिद्धेश्वर मावि प्रथम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here