
राप्ती सोनारी, बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकामा संचालन भएको १७ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तथा सातौं गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगितामा सिद्धेश्वर माध्यमिक विद्यालय वडा नं ६ प्रथम स्थान हासिल गरेको छ ।
गत बुधबारदेखि शुरु भएको तीन दिने प्रतियोगिताका अधिकांश खेलहरुमा आफ्नो बर्चश्व जमाउँदै सिद्धेश्वर माध्यमिक विद्यालय सिधनवा समग्रमा प्रथम स्थान हासिल गर्न सफल भएको हो । विजेतासँगै विद्यालयले शिल्ड तथा प्रमाण पत्रले सम्मानित भएको छ ।
शिवशक्ति माध्यमिक विद्यालय वडा नं ८ को खेल मैदानमा संचालन भएको प्रतियोगितामा लक्ष्मी माध्यमिक विद्यालय वडा नं २ मदुई द्धितीय र आयोजक शिवशक्ति माध्यमिक विद्यालय वडा नं ८ तृतीय हुन सफल भएका हुन् ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले आयोजक विद्यालयले प्रभावकारी भूमिका निर्वाह गरेका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको भन्दै धन्यवाद दिनुभयो ।
अध्यक्ष पौडेलले गाउँपालिकाले खेलाडी उत्पादन तथा विद्यार्थीहरुलाई खेल र शिक्षातर्फ प्रोत्साहित गर्नका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना रहेको उल्लेख गर्नुभयो । उहाँले गतवर्ष गाउँपालिका हुँदै जिल्ला, प्रदेश र संघमा खेलेका खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरिने बताउनुभयो ।
यस्ता प्रतियोगताले शैक्षिक गतिबिधिलाई सहज तथा प्रभावकारी बनाउने हुँदा विद्यालय स्वयंले पनि विद्यालयस्तरमा संचालन गर्नका लागि बिशेष भूमिका निभाउन अध्यक्ष पौडेलले आग्रहसमेत गर्नुभयो ।
गतवर्ष संचालन भएको १४ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तथा छैठो राप्ती सोनारी गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगितामार्फत संघमा आठ जना खेलाडीले विभिन्न स्थान ल्याउन सफल भएका थिए । गाउँपालिकाले विभिन्न खेलहरुमा पदक ल्याएका खेलाडीलाई सम्मान गर्ने अध्यक्ष पौडेलले सार्वजनिक प्रतिबद्धतासमेत जनाउनुभयो ।
समापन कार्यक्रममै बिशेष अतिथि रहेका वडा नं-८ का वडाअध्यक्ष सालिकराम डाँगी र वडा नं-९ का सोहनलाल थारुमध्ये मन्तब्य राखेका थारुले खेलकुद प्रतियोगिताले विद्यार्थीहरुलाई शैक्षिक क्रियाकलापमा सक्रिय बनाउनका साथै अभिभावकलाई आफ्ना बालबालिकामा भएको प्रतिभातर्फ ध्यान दिन प्रेरित गर्न बाध्य बनाउने बताउनुभयो ।
कार्यक्रममा खेलकुद विकास समितिका अध्यक्ष तेजबहादुर सुवेदी, आयोजक विद्यालय शिवशक्तिका प्रधानाध्यापक पुष्करराज खडका, सम्पूर्ण विद्यालय व्यवस्थापन समितिको तर्फबाट वडा नं-७ मा रहेको दिप प्रकाश माध्यमिक विद्यालयका अध्यक्ष देव खाँणले खेलकुद कार्यक्रमको प्रशंसा गर्दै अगामी दिन थप उत्कृष्ठ कार्यक्रम आयोजनाको शुभकामना व्यक्त गर्नुभएको थियो ।
शिवशक्ति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओपेन्द्र खड्काको सभापतित्वमा भएको समापन कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष धनी कुमारी खत्री, विभिन्न विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, शिक्षकलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापनसँगै आगामी १८ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तथा आठौं राप्ती सोनारी गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता वडा नं ७ स्थित अमर ज्योति माध्यमिक विद्यालय नन्कउपुरमा गरिने निर्णय गरिएको छ ।
यो निर्णयसँगै कार्यक्रमका अध्यक्ष खडका, खेलकुद विकास समितिका अध्यक्ष सुवेदी र फिल्ड मार्सल टोपबहादुर सुनारले अमरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र कुमार पाण्डे र प्रधानाध्यापक मनोज पाण्डेलाई ओलम्पिक झण्डा हस्तान्तरण गर्नुभएको थियो ।
खेलकुद प्रतियोगितामा गाउँपालिकाका ५२ वटा विद्यालयका १ हजार ३ सय १५ जना विद्यार्थीहरु सहभागि भएको कार्यक्रम संचालक शिवशक्तिका मावि शिक्षक सरोज विश्वकर्माले जानकारी दिनुभयो ।






