
नेपालगञ्ज । नेपालगञ्जमा हुन लागेको प्रथम लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सल्लाहाकारमा बरिष्ठ फुटबलकर्मी गोवद्र्धन सिंह सम्झना र प्रदेश सिंह राठौरलाई मनोनित हुनुभएको छ ।
आयोजक अन्तरालले उहाँहरुलाई प्रतियोगिताको सल्लाहाकारको रुपमा मनोनयन गरेको हो । सिंह अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व उपाध्यक्ष हुनुहुन्छ भने राठौर एन्फाका पूर्व केन्द्रीय सदस्य र बाँके जिल्ला फुटवल संघका पूर्व अध्यक्ष हुनुहुन्छ ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप महिला फुटवल आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्जमा आयोजना गर्ने तयारी गरेको छ । नेपालगञ्ज रंगशालामा हुने उक्त फुटबल प्रतियोगितामा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन् ।
प्रतियोगिताले पश्चिम नेपालको फुटबल विकासमा महत्वपुर्ण भूमिका खेल्ने अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘यो प्रतियोगिता हाम्रो लागि विशेष छ । पश्चिम नेपालमा महिलाको स्तरीय प्रतियोगिता हुँदैन । यसले महिला फुटबलमा नयाँ किसिमको उर्जा थप्ने हामीले विश्वास लिएका छौं ।’
अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले फुटबल क्षेत्रमा महत्वपुर्ण व्यक्तिलाई सल्लाहाकारको रुपमा नियुक्त गर्न पाउँदा खुसी लागेको बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘लुम्बिनी कप महिला फुटबल महिला खेलाडीलाई अवसर प्रदान गर्न आयोजना गर्न लागिएको हो । यसले फुटबल खेलाडीको स्तरवृद्धि गर्नुका साथै पश्चिम नेपालको खेल, पर्यटन क्षेत्रको विकासमा सहयोग गर्नेछ ।’





