
नेपालगञ्ज । जनता समावादी पार्टी (जसपा) नेपाल बाँके संगठन बिस्तार अभियानमा जुटेको छ । केहीदिन अघिमात्रै नेपालगञ्जमा भएको जिल्ला भेलाले गरेको संगठन बिस्तार अभियानको निर्णय कार्यान्वयन गर्दै वडास्तरमा संगठन निर्माण कार्यमा जुटेको हो ।
सो क्रममा जसपा क्षेत्र नं ३ अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका वडा नं–१६ मा संगठन बिस्तार गरेको छ । वडास्तरीयको भेला आयोजना गर्दै पार्टीले ओमप्रकाश सोनी (महेश) को अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि गठन गरेको हो ।
‘संघीयता, सुशासन, सामाजिक न्याय र समावाद’को मुल नारा बोकेको जसपा नेपालले भेलाकै अवसरमा जरिना खाँको नेतृत्वमा ११ सदस्यीय समाजवादी महिला संघ नेपाल र अफजल इद्रिसीको नेतृत्वमा ११ सदस्यीय युवा संघ निर्माण गरेको छ ।
पार्टीको क्षेत्र नं–३ संयोजक तथा केन्द्रीय सदस्यसमेत रहनुभएकी लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेको संयोजकत्वमा सम्पन्न भेलामा पार्टीका केन्द्रीय सचिव एंव नेपालगञ्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राई, प्रदेश सचिव सुशील पौडेल, बाँके महिला संघकी अध्यक्ष खुश्बु श्रीवास्तव, खेलकुद संघका अध्यक्ष मोहम्मद साजिद खान, जिल्ला सदस्य अनिल पौडेल, युवा नेता इरफान अन्सारी, राजु जसगढ, आनन्द शर्मा, रंगिलाल साहू लगायतको उपस्थिति रहेको जिल्ला सचिव सूर्यलाल यादवले जानकारी दिनुभयो ।





