महासंघ लुम्बिनीका पदाधिकारीलाई बाँके शाखाद्वारा स्वागत एवं बधाई प्रदान

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिलाई स्वागत एवं सम्मान प्रदान गरेको छ । महासंघ बाँके शाखाले मंगलबार एक कार्यक्रमकाबीच महासंघ लुम्बिनी प्रदेशको नेतृत्वमा निर्वाचित पदाधिकारीलाई स्वागत एवं सम्मान प्रदान गरेको हो ।

महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीले महासंघ लुम्बिनी प्र्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईलाई स्वागत गर्दै प्रदेश समितिलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

सो क्रममा प्रदेश पद्दाधिकारीमध्ये उपाध्यक्ष पदमा निर्वाचित राम प्रसाद आचार्य, महिला उपाध्यक्ष मिना ढकाल, महासचिव पाण्डवप्रसाद शर्मा, सचिव गोविन्द प्रसाद शर्मा, सचिव समावेशी सरला सुवेदी, कोषाध्यक्ष प्रेम नारायण आचार्य, सदस्यहरु निर्मल आचार्य र सीता पाण्डेलाई समेत बाँके अध्यक्ष गिरीले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

स्वागत एवं बधाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष चौलागाईले महासंघलाई महासंघ जस्तो बनाउने बताउनुभयो । उहाँले महासंघको गरिमालाई सुधार गर्नका लागि आफूले सबै पत्रकारका संगसंगठनलाई सल्लाह दिने गरेको भन्दै त्यसका लागि हामी आफै पनि स्वयं यो विषयमा गम्भीर बन्नुपर्ने बताउनुभयो ।

प्रदेश कमिटी भ्रमणमा रहेका बेला मतदाताहरुलाई धन्यवाद दिने, एकआपसमा परिचय गर्ने, समग्र पत्रकारिता र पत्रकारहरुको अवस्थाको आँकलन गर्ने, आवश्यकता जिल्लाको के छ त्यसका आधारमा सुझावहरु, रायहरु संकलन गर्ने र प्रदेश समितिले आफ्नो मार्गनिदेशका रुपमा अगाडी बढाउने रहेको अध्यक्ष चौलागाईले स्पष्ट पार्नुभयो ।

‘यो भ्रमणले संस्थागत सहकार्यको पाटोलाई मजबुत बनाउँछ भन्ने लाग्छ ।,’ प्रदेश अध्यक्ष चौलागाईले भन्नुभयो, ‘जति वटा जिल्ला पुगेका छौं, एकदमै हार्दिकताका साथ स्वागत तथा सुझावहरु प्रस्तुत गर्नुभएको छ । यसले हामीलाई थप जिम्मेवार बोध गराएको महसुस गरेको छु ।’

हामीसँग रहेको थुप्रै चुनौती र अपठ्याराहरुलाई सहजताका साथ समाधान गर्ने बोध गरिरहेको भन्दै अध्यक्ष चौलागाईले यहाँहरुले दिएको मतको विश्वासलाई जिवन्ते राख्ने प्रतिबद्धता जनाउनुभयो । सदस्यता सुद्धिकरणको विषयमा बोल्दै अध्यक्ष चौलागाईले अब नयाँ सिरा र नयाँ प्रक्रियाबाट जानुपर्ने र जसले पाउनुपर्ने हो उसललाई प्रदान गरिने भनाई राख्नुभयो ।

कार्यक्रमका अध्यक्ष महासंघ बाँकेका अध्यक्ष गिरीले अहिलेको नेतृत्वमा क्रियाशिल पत्रकारहरु आएका हुँदा पत्रकारहरुको हकहितका सवालमा सदैव अगाडी उभिने बताउनुभयो । पत्रकारिताका नाममा गलत कार्य गर्नेहरुलाई महासंघले कहिल्यै साथ नदिने स्पष्ट पार्दै अध्यक्ष गिरीले पत्रकारको धर्म पत्रकारले निर्वाह गर्न आह्वान गर्नुभयो ।

साथै उहाँले प्रदेश कार्यसमितिले जिल्ला शाखाहरुसंग आवश्यक समन्वय सहकार्य गर्ने र पत्रकारका सवालमा आवश्यक कार्यहरुमा हातेमालो गर्ने आशा व्यक्त गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । महासंघ बाँके शाखा सचिव कृष्ण वलीले संचालन गरेको कार्यक्रममा सहसचिव भगतराम थारुले स्वागत मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा महासंघका पूर्व केन्द्रीय सदस्य एवं बाँकेका पूर्व अध्यक्ष झलक गैरे, महासंघका पूर्व अध्यक्षहरु रुद्र सुवेदी, निरज गौतम, सामुदायिक रेडियो नेटर्वकका सदस्य मोहम्मद आरिफ अन्सारी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्य, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा लगायतको उपस्थिति रहेको थियो ।

Previous articleमन्त्री अग्रवालद्धारा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नयाँ भवनको निरिक्षण
Next articleएक वर्षमा ५९८ जनाको उद्वार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here