पेट्रोलियम पदार्थ खोज्दा दैलेखमा ग्यास फेला

file photo

सुर्खेत । दैलेखमा ग्यास रहेको पत्ता लागेको छ । जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ स्थित जलजलेमा चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास भण्डारणको सङ्केत पत्ता लागेको हो ।

शनिबार पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङको काम सकिएको हो । ड्रिलिङपछि नमुना निकालिएको छ । अब कति मात्रामा ग्यास रहेको छ ? आर्थिक रूपमा कतिको लाभ लिन सकिन्छ ? भनेर अनुसन्धान भइरहेको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

गत वैशाख २३ गतेदेखि अन्तिम चरणको ‘ड्रिलिङ’ को काम सुरु गरिएको थियो । मेसिनले खनेर पेट्रोलियम पदार्थ भए/नभएको पत्ता लगाएको छ ।

चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास नै भएको पत्ता लागेको पेट्रोलियम पदार्थ आयोजनाका सिनियर डिभिजनल जियोलोजिस्ट सुरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार मात्र ड्रिलिङको काम सकिएको हो । ड्रिलिङपछि नमुना निकालिएको भन्दै उहाँले ड्रिलिङ गर्दा निस्किएको नमुना चीनको ल्याबमा पठाइएको छ ।

पेट्रोलियम पदार्थ हुनसक्ने भन्दै चीन सरकारको जिओलोजिकल सर्भे कम्पनीले भौगर्भिक अध्ययन गरेको अन्वेषण परियोजनामा सिएनपिसी इन्जिनियरिङले उत्खननको काम थालेको थियो ।

श्रेष्ठका अनुसार चीनबाट नमुनाको परीक्षणपछि व्यावसायिक रूपमा उत्खनन् हुने नहुनेमा स्पष्ट हुनेछ । ड्रिलिङको काम सकिएपछि आजसम्म उक्त स्थानमा गरेको कामका बारेमा समेटिएको डेटा र तथ्याङ्क एकै पटक निकालिनेछ ।

त्यसपछि ग्यास भण्डार भएको वा नभएको पत्ता लाग्नेछ । अहिलेको ड्रिलिङको कामले गर्दा ग्यासको भण्डारण रहेको पत्ता लागेको उहाँको भनाइ छ । नेपाल सरकारले २०८२ सम्म पेट्रोलियम अन्वेषणको काम सक्ने तयारी गरेको छ ।

चैत २०७१ मा नेपाल र चीनबिच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्ने सहमति भएसँगै २०७५ माघमा पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्नेसम्बन्धी परियोजना स्वीकृत भएको थियो ।

पेट्रोलियम पदार्थको उत्खनन् र अन्वेषणमा गर्न दुई अर्ब ४० करोड रुपियाँसँगै प्राविधिक सहयोग गर्नेगरी चीन र नेपाल सरकारबिच सम्झौता भएको थियो ।

ड्रिलिङको काम सकिएसँगै पहिलो चरणको सम्झौता अवधि सकिएको छ । अब अर्को चरणको सम्झिौता गरेर अन्य काम अघि बढाइने आयोजनाले जनाएको छ ।

व्यावसायिक उत्खननको काम अघि बढाइने
दैलेखमा ग्यास भएको पत्ता लागेसँगै व्यावसायिक उत्खननको काम अघि बढाइनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेट्रोलियम पदार्थको नमुना निकालिएको र अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यावसायिक उत्खननको कामलाई अघि बढाइने बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत् उहाँले पेट्रोलियम पदार्थ उत्खननको काम अघि बढाउने जानकारी गराउनुभएको हो । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ भित्रै पेट्रोलियम पदार्थ अन्वेषणको काम सक्ने लक्ष्य राखेको छ ।

पहिलो चरणको कामको सम्झौता सकिएको छ भने दोस्रो चरणको काम सुरु गर्न चीन सरकारसँग पहल थालिएको जनाइएको छ । अब लाग्ने बजेटको अनुमानित विवरण र निकालिएको स्याम्पलको परीक्षणको रिर्पोटअनुसार अघि बढ्ने जनाइएको छ ।

स्थानीय तथा प्रदेश सरकारले समेत व्यावसायिक उत्खननका लागि पहल थाल्न सङ्घीय सरकारलाई आग्रह गरेका छन् । गोरखापत्रबाट

Previous articleडुडुवामा १५१ फिट अग्लो शिव प्रतिमा बनाइदै
Next articleरक्तदान जीवनदान भन्दै डुडुवाद्वारा बृहत रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here