
डुडुवा । ‘रक्तदान जीवनदान, रक्तदान महादान अभियान’ भन्दै बाँकेको डुडुवा गाउँपालिकाले आइतबार बृहत रक्तदान गरेको छ । गाउँपालिकाले आफ्नै कार्यालय परिसरमा बृहत रक्तदान कार्यक्रम गरेको हो ।
रक्तदान नै महादानको नाराका साथ गाउँपालिकाले रगतको अभावलाई सहज बनाउने उद्देश्यका साथ कार्यक्रम गरेको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो । रक्तदान जीवनको महत्वपूर्ण दान भएको भन्दै अध्यक्ष चौधरीले यो पूण्यकार्यमा सबैको सहभागिता हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।
‘हरेक व्यक्तिको सामाजिक उत्तरदायित्व हुन्छ, त्यो सामान्य व्यक्ति नै किन नहोस् ।,’ अध्यक्ष चौधरीले भन्नुभयो, ‘आफूले सामाजका लागि के कुरामा योगदान पुर्याउन सकिन्छ, त्यो कार्य उसले गर्दा यो समाजमा सकारात्मक कुराहरु स्वत बढ्दै जानेछ । स्थानीय सरकारको नेतृत्व गरेका कारण हाम्रो पनि अन्य कुरासँगै यस्ता कार्यहरुको पनि जिम्मेवारी रहेको हुँदा यो रक्तदान कार्य गरिएको हो ।’
गाउँपालिकाले प्रत्येक वर्षमा एक पटक बृहत् रक्तदान कार्यक्रम गर्दै आएको छ । यो पटक गाउँपालिकाको हरेक वडा अन्तर्गतका व्यक्तिहरुलाई सहभागिता गराएको छ । कार्यक्रममा गाउँपालिकाको १ देखि ६ नम्बर वडाका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापकसहितको कर्मचारी, वडाको जनप्रतिनिधिसहितको कर्मचारी, समूह संगठनको सम्पूर्ण पदाधिकारी, सामाजिक कार्यमा सक्रिय व्यक्तिहरुको सो कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा २ सय ११ जनाले रक्तदान गरेका छन् ।
पालिकाले अघिल्लो वर्ष आयोजना गरेको रक्तदान कार्यक्रमको रेकर्ड पनि यो वर्ष ब्रेक गरेको छ । अघिल्लो वर्ष १ सय २५ जनाले रक्तदान गरेका थिए । ‘हामीले यो पटक अझ बढी व्यक्तिहरुले योगदान दिउन भनेरै योजना बनाएका थियौं ।,’ अध्यक्ष चौधरीले भन्नुभयो, ‘त्यही योजना अनुसार व्यक्तिहरुलाई सहभागिताका लागि अनुरोध गरिएको पनि थियो ।’
यो पटक करिब ३ सय बढी रगत संकलन गर्ने आफूहरुको लक्ष्य रहेको गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो । तर कार्यक्रममा आएका कतिपय व्यक्तिले रक्तदान नै गर्न पाएनन् । अध्यक्ष चौधरीका अनुसार रक्तदान गर्न आएका धेरै जनालाई विभिन्न समस्या रहेको हुँदा उहाँहरुले दिन पाउनु भएन ।
रक्तदान गर्ने कुरा आफैमा उच्च प्रशंसा गर्न लायक कार्य भएको गाउँपालिका उपाध्यक्ष साहिदा बानोको भनाई छ । यद्दपि उहाँले रक्तदान गर्न चाहेर पनि गर्न पाउनु भएन् । उहाँले यो जस्तो ठुलो सामाजिक काम अरु हुन नसक्ने उल्लेख गर्दै रगतको अभावलाई हामीले गरेको कार्यक्रमले केही राहत मिल्ने बिश्वास व्यक्त गर्नुभयो ।
‘गाउँपालिकाका धेरै बिरामीहरु अस्पतालमा जाँदा रगतको अभावमा समस्या भोग्न परेको अवस्था छ ।,’ उपाध्यक्ष बानोले भन्नुभयो, ‘त्यस्ता अवस्था कम गर्न रक्तदान गर्न अन्यलाई प्रेरित गर्नका लागि यो कार्यक्रम गरिएको हो । मलाई बिश्वास छ कि यसले गाउँपालिकाभित्रका सामान्य व्यक्तिलाई पनि रक्तदान गर्न प्रेरित गर्नेछ ।’
भेरी अस्पताल परिसरमा रहेको रक्तसंचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई गाउँपालिका अध्यक्ष चौधरी र उपाध्यक्ष बानोले संयुक्तरुपमा रगत संकलन गर्ने प्याकेट प्रदान गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो । रक्तदान कार्यक्रममा सेवा केन्द्रका प्रमुख रेग्मी, होम बहादुर गिरीले प्राविधिक सहयोग र गाउँपालिकाको स्वास्थ्य तथा अन्य कर्मचारीहरुले सहयोग गर्नुभएको थियो ।






