
नेपालगन्ज । ‘स्वस्थ समाज समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नाराका साथ आज दशैं राष्ट्रिय योग दिवस मनाईदै छ ।
साे अवसरमा नेपालगन्जमा याेगाभ्यास गरि कार्यक्रम गरी मनाइएको छ । योग समिति नेपालले नेपालगन्जमा साे अवसरमा याेगाभ्यास गरेकाे छ ।
साे कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास गाउँगाउँमा गर्न जरुरी रहेकाेमा जाेड दिनुभयाे ।
उहाँले योगले शारीरिक तथा मानसिक रूपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले सरकारले यसलाई जोड दिएर राष्ट्रिय दिवसको रूपमा मनाउने गरेको स्पष्ट पार्नुभयो ।
योग समिति नेपालका अध्यक्ष योग गुरु गिरिराज भट्टराईकाे सभा अध्यक्षतामा भएकाे कार्यक्रममा शारीरिक तन्दुरुस्तीका लागि पनि विश्वभर योगको आकर्षण बढ्दै गएको बताउनुभयो । यसैकारण संयुक्त राष्ट्र संघकाे आह्वानमा विश्वमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरिएको बताउनुभयाे ।
योग व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास हो । आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको उपचार र शारीरिक पक्षहरूलाई महत्त्व दिन्छ । तर योगाभ्यासले मनको शान्ति, आत्म नियन्त्रण र आध्यात्मिकतामा महत्त्व दिँदै आएको योग गुरु भट्टराईले जानकारी दिनुभएको थियो ।
कार्यक्रममा वरिष्ठ अर्थोपेडिक डा. बिनोद थापा, डा. श्याम सुन्दर यादव, योग समिति नेपालका उपाध्यक्ष निर्मला शाह, लोक माया सुबेदी “सुमित्रा”, सल्लाहकार जगदिश चन्द र मिनबहादुर मल्ल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो भने योग समिति नेपालका ३४ वटा केन्द्र संयोजक र प्रतिनिधिहरुको सहभागितामा रहेको थियो ।





