
नेपालगन्ज । बाँके प्रहरीले एक महिनाको प्रगति विवरण मंगलबार सार्वजनिक गरेको छ । कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर बाँके प्रहरीले गत पुष महिनामा गरेको कार्यहरुको प्रगति विवरण सार्वजनिक गरेको हो ।
प्रगति विवरण अनुसार एक महिनामा १२ लाख ९४ हजार १ सय ५८ रुपैया बराबरको भन्सार छलिको सामान नियन्त्रणमा लिएको छ । अबैध रुपमा भन्सार छलि गरिएको सो सामानहरु नियन्त्रणमा लिएर सम्बन्धित कार्यालयमा बुझाएको छ ।
यस्तै एक महिनामा २४ लाख ७५ हजार राजश्व संकलन गरेको छ । जिल्लामा ३ हजार ५७ वटा सवारी साधानलाई कारवाही गर्दै सो राजश्व रकम संकलन गरेको छ भने उत्खनन कार्यमा संलग्न साधनबाट ४८ हजार ८ सय रुपैया जरिवाना असुल गरेको छ ।
अबैध रुपमा नदीजन्य पदार्थको उत्खनन गर्ने कार्यमा संलग्न ७ वटा ट्याक्टर, १ वटा टिप्पर, १ जेसिबी नियन्त्रणमा लिएर कारवाही गरेको छ भने ३ जना सवारी चालकलाई अभद्र व्यवहार सम्बन्धि कानूनी प्रक्रिया अगाडी बढाएको बाँके प्रहरीले प्रगति विवरणमा उल्लेख गरेको छ ।
यसैगरी अपराध अनुसन्धान र कारवाहीतर्फ १ सय २१ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएर कानूनी दायरामा ल्याएको छ । अपराध अनुसन्धानका लागि १ सय १७ वटा मुद्दा दर्ता भएको थियो भने ५३ वटा बाँकी रहेका मुद्दा फच्र्यौट गरिएको छ ।
फरार अपराधीलाई पक्राउ गरी ५१ लाख ५५ हजार १३ रुपैया जरिवाना असुल गरेको छ । ६५ जना फरार अपराधी पक्राउ गरी १९ वर्ष ४ महिना २७ दिन कैद र सो मात्राको जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।
गत एक महिनामा ६ सय ६८ वटा ठाडो उजुरी फच्र्यौट भएको र १३ वटा निवेदन फच्र्यौट हुन बाँकी रहेको छ । एक महिनामा ६ सय ८१ वटा ठाडो उजुरी परेको थियो । २ सय ६८ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर, ८ ट्याबलेट नाइट्रोजेपाम र ३ सय ६७ वटा ट्रामाडोल ट्याबलेट लागूऔषधसहित २९ जना ओसारपसारकर्तालाई कानूनी दायरमा ल्याएको छ ।
यस्तै ४ वटा हराएको मोटरसाईकल, १० थान मोबाईल फेला पारी सम्बन्धित धनीलाई बझाएको छ भने जमिनमुनिबाट सुन निकालिदिने भन्दै २ करोड ठगी गर्ने एक जना भारतीयलाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अगाडी बढाएको प्रगतिमा उल्लेख छ ।
यसैगरी महिला बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान र कारवाहीतर्फ १३ वटा मुद्दा दर्ता भएकोमा १६ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको, घरेलू हिंसा सम्बन्धि ५० वटा उजुरी प्राप्त भएकोमा ४७ वटा फच्र्यौट गरेको छ भने हराएका महिला, बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धिमा ४४ वटा निवेदन प्रहरीले प्राप्त गरेकोमा ३२ जनालाई फेला पारी अभिभावकको जिम्मा लगाएको छ ।
यस्तै समुदाय प्रहरी सहकार्य तथा गतिबिधितर्फ ६३ वटा सचेनामूलक कार्यक्रममध्ये लैंगिक हिंसा, लागूऔषध, आत्महत्या सम्बन्धि सचेतना, अल्पसंख्यकसँग प्रहरी, नागरिक सुनुवाई, सितलहर सचेतना र चोरी सम्बन्धि सचेतनामूलक कार्यक्रम गरेको बाँके प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
अन्तरिक सुदृढीकरणतर्फ प्रहरी चौकी राधापुरलाई पुष महिनाको उत्कृष्ट प्रहरी इकाई घोषणा गरेको छ ।





