
नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ की एक महिला एक सातादेखि बेपत्ता हुनुभएको छ । जानकी गाउँपालिका वडा नम्बर १ की २७ वर्षीया अम्रिता कहार एक सातादेखि बेपत्ता रहेको परिवारले जनाएको छ ।
नेपालगन्ज बजार जान्छु भनेर घरबाट निस्किएदेखि फिर्ता हुनुभएको छैन । उहाँका श्रीमान जगदिश कहारले नेपालगन्ज बजार जाने भनेर अटोरिक्सामा बसेर घरबाट निस्किएको र गणेशमान चोकदेखि बेपत्ता भएको जानकारी दिनुभयो ।
परिवारका अनुसार अम्रिता यही पुष २५ गते बिहीबार घरबाट निस्किएकी थिइन् । करिब १० बजेको समयमा नेपालगन्ज जाने भनेर निस्कनुभएको श्रीमान जगदिशले बताउनुभयो ।
‘घरमा कसैसँग कुनै प्रकारको विवाद वा झैझगडा भएको छैन,’ श्रीमान जगदिशले भन्नुभयो, ‘बजार जानुछ भनेर निस्किएको हो । छोरा छोरीलाई स्कुल पठाएर निस्किएकी थिइन् ।’ हराएको सूचना प्रहरी कार्यालयमा समेत दिएको जगदिशले बताउनुभयो ।
गोरो वर्ण रहेको अम्रिता हराएको दिन खरानी रंगको ज्याकेट, कालो पाईन्ट, कालो डुपट्टा लगाएको श्रीमानले बताउनुभयो । भेटाउनु हुने व्यक्तिले ९८२९६६९२८७ मा सम्पर्क गरिदिनु हुन श्रीमानले अनुरोध गर्नुभएको छ ।





