
काहलपुर । कोहलपुर नगरपालिकाका कर्मचारी अब प्रत्येक दिन बिहान १० बजे राष्ट्रिय गानमा सहभागी भएर कार्यसम्पादनमा खटिने भएका छन् । त्यसको सुरुवात बिहीवार राष्ट्रिय गानबाट गरिएको छ ।
नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कर्मचारीहरुलाई समयमै कार्यालय आउन र कार्यसम्पादनमा सकारात्मक प्रभाव परोस् भन्ने सन्देश प्रबाह गर्नका निमित्त १० बजे राष्ट्रिय गानमा सहभागी गराउने कार्यको सुरुवात गरिएको बताउनुभयो ।
‘राष्ट्रिय गीतमा सहभागी भएर कार्यसम्पादनमा जाँदा त्यसले छुट्टै उर्जा थप्छ,’ नगर प्रमुख आचार्यले भन्नुभयो, ‘१० बजे कार्यालयमा आइपुग्ने कर्मचारी र जनप्रतिनिधिहरु राष्ट्रिय गानमा सहभागी हुन्छन् । सबै कर्मचारीहरुलाई नियमित रुपमा सहभागिताका लागि अनुरोध पनि गर्दछु ।’
नगर उपप्रमुख संगीता सुवेदीले पनि राष्ट्रिय गानमा सहभागी भएर कार्यसम्पादनमा जाँदा राष्ट्रभक्तिको भाव प्रकट हुने र नियमित कार्यमा उर्जा मिल्ने बताउनुभयो ।
अब बिदाको दिन बाहेक हरेक दिन कोहलपुर नगरपालिकामा बिहान १० बजे राष्ट्रिय गान बज्ने प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले जानकारी दिनुभयो ।






