
नेपालगन्ज । नेपालगन्जमा रहेको बागेश्वरी यातायात व्यवसायी प्रालिले भारतीय पर्यटकहरुलाई बीच बाटोमा अलपत्र पारेको छ ।
स्वगद्धारी जाने भनेर नेपालगन्जदेखि ५६ जना भारतीय पर्यटकलाई बागेश्वरी यातायात व्यवसायी प्रालिद्वारा संचालित ९४९५ नम्बरको मानसरोवर मेट्रो डिलक्स बसले दाङ्गको घोराहीमा लगेर अलपत्र पारेको छ ।
बसमा सवार पिडितमध्ये पुजारीलाल बर्माले बस व्यवसायीले भने अनुसारको रकम आफुहरुले तिरेको भएपनि बिच बाटोमा अलपत्र पारेको बताउनुभएको छ । भारतको श्रावस्तीको जमुनाहा बनगाई बस्ने बर्माका अनुसार स्वर्गद्धारी मन्दिर जाने भनेर गत पुष ८ गते बस बुक भएको थियो ।
प्रालिको नेपालगन्ज काउण्टरमा कार्यरत भिम थापासँग बर्माले कुराकानी गरी बस फिक्स गरेका थिए । स्वर्गद्धारी जाने र फिर्ता ल्याएर पुनः चढेको ठाउमा छोड्ने भनेर जम्मा ५५ हजार ८ सय रुपैयामा बस बुक भएपछि एडभान्सवापत ३ हजार २ सय रुपैया बर्माले थापालाई बुझाएका पनि थिए ।
सहमति अनुसार स्वर्गद्धारी जाने दिन पुष २७ गते बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर १ बाट ५६ जना यात्रु लिएर स्वर्गद्धारीका लागि प्रस्थान भएको थियो । बस चढिसकेपछि बसका कर्मचारीले बाँकी रकम चाहिने दिनुप¥यो भनेर मागेपछि बाँकी रकम ५१ हजार ८ सय रुपैया लगेका थिए ।
स्वर्गद्धारी जाने क्रममा दाङ्गको घोराही पुगेपछि बसका कर्मचारीसँग सामान्य विवाद हुँदा मन्दिर नपु¥याई जबरजस्ती त्यहाँ झार्न लगाएर अलपत्र पारेको बर्माले जानकारी दिनुभयो । मन्दिरसम्म लैजाने र ल्याउने सहमति भएपनि सो अनुसार नगरेर बिच बाटोमै अलपत्र पारेको बर्माले आरोप लगाउनुभयो ।
‘कर्मचारीले बसबाट झर नत्र प्रहरीलाई बोलाएर थुन्न लगाउँछु भनेर तथानाम गाली गलौच गरे,’ बर्माले भन्नुभयो, ‘आफ्ना गफमेलका अन्य व्यक्तिहरुलाई बोलाई थप गाली गलौच गर्दै डर त्रास देखाएर घोराहीमा बीचबाटोमै आफुहरुलाई छाडेर गयो ।’
मन्दिरसम्म जाने र आउने भनेर अग्रिम भएको सम्झौता अनुसार नभएको भन्दै पिडितले बाँके प्रशासनमा निवेदन दिएका छन् ।
यता भारतीय पर्यटकलाई नेपाली व्यवसायीको यस्तो हर्कतले नेपालको बारेमा नराम्रो मानसिक्ता निर्माण हुने जसले गर्दा पर्यटन प्रर्वद्धनमा असर पुग्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।





