
नेपालगञ्ज । लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको प्रारम्भिक तयारीका बारेमा पत्रकारलाई जानकारी गराईएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी कप महिला फुटबल यही फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्जमा हुँदैछ ।
नेपालगञ्ज रंगशालामा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगितालाई सभ्य तथा भव्यरुपमा संचालन गर्न युद्धस्तरमा तयारी थालिएको जानकारी गराउनुभयो ।
‘खेलाडी तथा अफिसियलको बसोबास, खानपान तथा आउजाउलाई हामीले मुख्य प्राथमिकतामा राखेका छौ’-प्रमुख शाहले भन्नुभयो । प्रतियोगितामा भारतका दुई र नेपालका ६ गरी आठ वटा क्लबको सहभागिता रहने शाहले बतउनुभयो ।
पत्रकारद्धारा सोधिएको प्रश्नको जवाफमा शाहले भन्नुभयो-‘स्रोत व्यवस्थापनका आधारमा प्रतियोगिताका विजेता, उपविजेता र तथा विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई नगदसहितको पुरस्कार उपलव्ध गराइने छ ।’
‘हामीले विभिन्न उपसमिति समेत गठन गरेर केन्द्रदेखि जिल्ला तहसम्मका विभिन्न सरोकारवाला पक्षसंग समन्वय, सहकार्य र सहयोगका सम्बन्धमा छलफल शुरु गरिसकेका छौ’-प्रमुख शाहले भन्नुभयो ।
यति ठूलोस्तरको प्रतियोगिता नेपालगञ्जमा आयोजना गर्नु नै मुख्य चुनौती रहेको बताउँदै शाहले प्रतियोगिता आयोजनाको अगुवाई अन्तरालले गरे पनि यसमा सबैले अपनत्व ग्रहण गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले लुम्बिनी कप महिला फुटबल प्रतियोगिताका लागि स्थानीय एउटा सशक्त टीम सहभागि गराउने तयारी थालिएको बताउनुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा मिडिया संयोजक निरजकुमार गौतमले अहिलेसम्म भए गरेका तयारीका सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
त्यस अवसरमा नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष नवीन गिरी र बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले महिला फुटबल विकासका बहुआयामिक पक्षका बारेमा प्रकाश पार्नुभएको थियो ।
भेटघाटमा राखेप लुम्बिनी प्रदेश सदस्य जनक केसी, सचिवालय प्रमुख रमेश मल्ल, परिचालन तथा समन्वय समितिका तेजविक्रम शाह, बाँके महिला फुटबल समितिका अध्यक्ष नितु शाह चन्दलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको लोगो नेपाली राष्ट्रिय महिला फुटवल टिमका पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बापो सुब्बाले संयुक्तरुपमा सार्वजनिक गर्नुभएको छ ।
लोगोमा शान्तिका अग्रदुत गौतम बुद्ध, महिला फुटबल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको निलो तथा सिम्रिक रातो रङ्ग समेटिएको छ ।
नेपालगञ्ज रंगशालामा हुने राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता रहने अन्तरालका कार्यकारी निर्देशक शाहले जानकारी दिनुभयो ।





