भारतीय श्रद्धालुलाई बीच बाटोमै छाड्ने बस मालिकले मागे माफी

नेपालगन्ज । बस बुक गरेर स्वर्गद्धारी हिडेका भारतीय श्रद्धालुहरुलाई बीच बाटोमै छाडेको बस व्यवसायीले माफी मागेका छन् । नेपालगन्जस्थित बागेश्वरी यातायात व्यवसायी प्रालिद्वारा संचालित बसले भारतका श्रद्धालुहरुलाई गन्तब्यस्थलसम्म नपुर्याई बीच बाटोमै अलपत्र छाडेको थियो ।

पिडितहरुले कारवाहीको माग गर्दै बाँके प्रशासनमा निवेदन दिएपछि शनिबार भएको छलफलमा बस व्यवसायीले गल्ती स्वीकार गरेका छन् । बसका मालिक उमेश शाह रौनियारले बसका कर्मचारीबाट गल्ती भएको स्वीकार गर्दै माफी माग्नुभएको हो ।

नेपालगन्जमा सामाजिक कार्यमा सक्रिय युवाहरुले भारतीय श्रद्धालुहरुप्रति गरिएको व्यवहारको ध्यानाकर्षण भएको जनाउँदै पिडिललाई न्यायको माग गरेका थिए भने पिडितहरुमध्ये एक भारतीय श्रद्धालुले आवश्यक कारवाहीको माग गर्दै निवदेन दिएका थिए ।

जिल्ला प्रशासन कार्यालयले आवश्यक कारवाहीका लागि बाँके प्रहरीलाई दिएको निर्देशनको आधारमा शनिबार अस्थायी प्रहरी पोष्ठ बसपार्कको प्रांगणमा भएको छलफलमा बसका मालिक रौनियारले गल्ती भएको भन्दै माफी मागेसँगै बसका कर्मचारीहरुले यात्रुसँग गरेको अभद्र व्यवहार अब उपरान्त कोही कसैसँग नगर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

साथै मालिक रौनियारले यात्रुहरुबाट लिएको भाडा रकम फिर्ता गर्ने जनाउनुभएको छ । सामाजिक अभियान्ता युवाहरु र प्रहरीको उपस्थितिमा भएको छलफलको निष्कर्ष अनुसार बसका मालिक रौनियारले १५ गतेभित्र बस भाडा फिर्ता गर्ने सहमति भएको छ ।

घट्ना गत २७ गतेको हो । स्वगद्धारी जाने भनेर नेपालगन्जदेखि ५६ जना भारतीय श्रद्धालुहरुलाई बागेश्वरी यातायात व्यवसायी प्रालिद्वारा संचालित ९४९५ नम्बरको मानसरोवर मेट्रो डिलक्स बसले दाङ्गको घोराहीमा लगेर अलपत्र पारेको थियो ।

भारत श्रावस्तीस्थित जमुनाहा बनगाई बस्ने पुजारीलाल बर्माले स्वर्गद्धारी मन्दिर जाने भनेर पुष ८ गते बस बुक (रिजर्भ) गर्नुभएको थियो । प्रालिको नेपालगन्ज काउण्टरमा कार्यरत भिम थापासँग बर्माले कुराकानी गरी बस रिजर्भ गर्नुभएको थियो ।

स्वर्गद्धारी जाने र फिर्ता ल्याएर पुनः चढेको ठाउमा छोड्ने भनेर जम्मा ५५ हजार ८ सय रुपैयामा बस रिजर्भ भएपछि ३ हजार २ सय रुपैया बर्माले एडभान्सवापत थापालाई बुझाउनुभएको थियो ।

सहमति अनुसार स्वर्गद्धारी जाने दिन पुष २७ गते बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर १ बाट ५६ जना यात्रु लिएर बस स्वर्गद्धारीका लागि प्रस्थान गर्यो । बस चढिसकेपछि बसका कर्मचारीले बाँकी रकम चाहिने भन्दै मागेपछि बाँकी रकम बर्मासँग लिएका थिए ।

तर स्वर्गद्धारी जाने क्रममा दाङ्गको घोराही पुगेपछि बसका कर्मचारीसँग सामान्य विवाद हुँदा मन्दिर नपु¥याई जबरजस्ती त्यहाँ झार्न लगाएर यात्रुहरुलाई अलपत्र पारेको थियो । ‘कर्मचारीले बसबाट झर नत्र प्रहरीलाई बोलाएर थुन्न लगाउँछु भने,’ बर्माले भन्नुभयो, ‘आफ्ना गफमेलका अन्य व्यक्तिहरुलाई बोलाई डर त्रास देखाएर घोराहीमा बीचबाटोमै आफुहरुलाई छाडेको थियो ।’

मन्दिरसम्म जाने र आउने भनेर भएको अग्रिम सम्झौता अनुसार नभएको भन्दै पिडितले बाँके प्रशासनमार्फत कारवाहीको माग गरेका थिए ।

घट्ना सार्वजनिक भएपछि नेपालगन्जमा सामाजिक कार्यहरुमा सक्रिय नेपाल भारत जनमैत्री संगठनका जिल्ला कोषाअध्यक्ष सुशिल बर्मा, सदस्य महेश कुमार चौधरी, चिरन्जिवी बुढालगायतले यस प्रकारको हर्कतले नेपालीको बदनाम हुने भन्दै पिडकलाई कारवाहीको माग गर्नुभएको थियो ।

Previous articleनिजामति कर्मचारी युनियन जानकीको अध्यक्षमा यादव चयन
Next articleडिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौतीबारे छलफल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here