युवा सवालमा उपमहानगरको छैन ध्यान

नेपालगन्ज । नेपालगन्जमा युवाहरुको सवालमा स्थानीय सरकारले ध्यान नदिएको बिषयमा युवाहरुले ध्यानाकर्षण गराएका छन् । पश्चिमको ठुलो तथा पुरानो शहरको रुपमा रहेको नेपालगन्जमा युवाहरुको सवालमा स्थानीय सरकारले खेल्नुपर्ने भूमिका निर्वाह नगरेको भन्दै उनीहरुले बुधबार नेपालगन्जका नगर प्रमुख प्रशान्त बिष्टलाई त्यस्ता सवालहरुका बारेमा ध्यानाकर्षण गराएका हुन् ।

पछिल्लो समय देशमै बेरोजगारी समस्या, नेपालगन्जको फोहोर व्यवस्थापन, शैक्षिक गुणस्तरबृद्धि कार्यक्रम, खेलकुदका लागि आवश्यक पुर्वाधारको अभाव, पर्यटकीय क्षेत्रको विकास तथा अवस्थालगायतका विषयमा खेल्नुपर्ने भूमिका नदेखिएको भन्दै युवाहरुले स्थानीय सरकारको भूमिका खोजेका हुन् ।

नेपालगन्जका क्रिकेट स्टेडियम नहुँदा क्रिकेटको उर्वरभूमिका रुपमा रहेको नेपालगन्जले क्रिकेट खेलाडीहरुको अभ्यास र उत्पादनमा बाधा पुर्याएको भन्दै नगर प्रमुख बिष्ट समक्ष सवाल प्रस्तुत गरे । केही वर्षअघि नेपालगन्जमा क्रिकेट रंगशाला निर्माण गर्न स्थानीय सरकारले नै डिपिआर तयार गरेको भएपनि ति योजना के कति र कहाँ पुग्यो भनेर सो विषयमा आवश्यक कदम बढाउन अनुरोध गरे ।

यस्तै फोहोर व्यवस्थापनका सवालमा देशकै नमूना डम्पिङ्ग साइड नेपालगन्जमा निर्माण भएको छ । तरपनि नेपालगन्जको फोहोर व्यवस्थापन कार्यलाई उपमहानगरले प्रभावकारी तरिकाले व्यवस्थापन गर्न नसकेको भन्दै युवाहरुले चिन्ता व्यक्त गरे । नमूना डम्पिङ्ग साइड भएपनि नेपालगन्ज अझै पनि फोहोर शहरकै रुपमा देखिने गरेकोप्रति खिन्नता प्रकट गरे ।

नेपालगन्जका गल्ली गल्लीमा फोहोर थुप्रेको भेट्टाउन सकिन्छ । उपमहानगरमा सरसफाईका लागि धेरै कर्मचारी भएपनि समयमा फोहोर नउठ्नुले ठाउँ–ठाउँमा थुप्रिएको फोहोरले दुर्गन्धित बनिरहेको अवस्था छ । युवाहरुले स्थानीय सरकारले किन यस विषयमा चासों नलिएको भन्दै नेपालगन्ज शहरको पहिचानलाई जोगाउन गाह्रो हुने भनाई राखे ।

यस्तै नेपालगन्जका सामुदायिक विद्यालयहरुमा आवश्यकता अनुसार अनुगमन, शैक्षिक क्रियाकलाप तथा विद्यालय संचालनमा बाधा पुगेको विषयप्रति चासो देखाए । युवाहरुले यस्ता विषयमा विषयगत शाखाको पनि सक्रियता न्यून देखिँदा पनि स्थानीय सरकार ध्यान नदिएको गुनासो राखे । यहाँका धेरैजसो विद्यालयमा अझै पनि शैक्षिक क्रियाकलाप संचालन गर्न आवश्यक पुर्वाधारको कमि छ भने नेपालगन्जको वडा १७ परसपुरस्थित विद्यालय परिसरमा वडा कार्यालय संचालनले पठनपाठन संचालनमा बाधा पुगेको छ । विद्यालयसँग सम्बन्धित यस्ता तमाम समस्यालाई स्थानीय सरकार तथा सरकार प्रमुखको प्रभावकारी भूमिकाको आवश्यकता माग गरे ।

यस्तै सडक सुरक्षा, सीपमुलक तालिम, लागूऔषध नियन्त्रण जस्ता विषयमा उपमहानगरले कार्यक्रमहरु संचालन गनुपर्ने माग राखेका थिए । यसैगरी नेपालगन्जमा चिल्ड्रेन पार्क निर्माणका सम्बन्धमा ध्यानाकर्षण जनाए । बालबालिकाका लागि नेपालगन्जमा चिल्ड्रेन पार्क निर्माणका लागि अदालतले आदेश दिँदासमेत निर्माण नभएको भन्दै दुःख व्यक्त गरे ।

ठुलो शहरका रुपमा परिचित नेपालगन्जले नै बालबालिकाका निम्ति नसोंचेकोले यस विषयलाई गम्भीरताका साथ ग्रहण गरि आवश्यक कदम चाल्न आग्रह गरे । यसैगरी पर्यटकीय क्षेत्रको विकास हुन नसकेको भन्दै युवाहरुले स्थानीय सरकारको चासो खोजेका थिए । नगरस्तरीय युवा क्लब संजालको आयोजनामा बुधबार गरिएको मेयरसंग युवा संवाद कार्यक्रममा सहभागि युवाहरुले युवाहरुका सवालमा नेपालगन्जको हितका लागि यस्ता प्रश्नहरु नगर प्रमुख बिष्टलाई राखेका हुन् । साथै सामाजिक सरोकारका विषयमा पनि स्थानीय सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने युवाहरुले माग राखेका थिए ।

स्थानीय सरकारप्रति युवाहरुले उठाएको सवालमा जवाफ दिँदै नगर प्रमुख बिष्टले युवाहरुको क्षमता विकासका साथै हरेक क्षेत्रमा सहभागिता गराउने प्रतिबद्धता जनाउनुभएको थियो । युवाहरुले राखेको विषयमा स्थानीय सरकारको मात्रै यी सवाल नभएर सम्पूर्ण नेपालगन्जबासीको चासो, चिन्ताको विषय बन्नुपर्ने र त्यसका लागि आ–आफ्नो भूमिका निर्वाह गर्न सबैलाई अनुरोध गर्नुभयो ।

‘यस्ता विषयहरुमा यहाँका व्यक्तिहरुको सक्रियता छैन, यसमा दुःख लाग्छ ।,’ नगर प्रमुख बिष्टले भन्नुभयो, ‘स्थानीय सरकारले गर्ने कुरामा अगाडी बढ्छ, तर यहाँका सम्पूर्ण व्यक्तिहरुले चासो नलिँदासम्म जो आएपनि राम्रो गर्न सक्दैन् ।’ तर पनि युवाहरुको ध्यानाकर्षण जायज भएको र आगामी दिनमा यस सम्बन्धमा निरन्तर लाग्ने नगर प्रमुख बिष्टले प्रतिबद्धता जनाउनुभएको थियो ।

संजालका अध्यक्ष सुरेन्द्र यादवको अध्यक्षतामा भएको संवादलाई युवा अधिकारकर्मी साहिल अन्सारीले सहजीकरण गर्नुभएको थियो । युवा अधिकारकर्मी पुजा बर्मा, अंकित मिश्रा, शुशिल बर्मा, निर्मल सुवेदी, मोहम्मद अहमद राई, गौरव शाह, १ देखि २३ वटै वडास्तरीय युवा क्लबका पदाधिकारी एवं सदस्य, कार्यक्रममा सय बढी युवाहरुको सहभागिता रहेको थियो ।

Previous articleनिवृत्तिभरण कोष कानुन बनेपछि मात्रै शिक्षकको पेन्सन लागु हुने
Next articleयातायात सेवा कार्यालयको सेवा अब कोहलपुरबाट सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here