
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका-१ को कोर क्षेत्रमा पाटेबाघ मृत भेटिएको छ ।
निकुञ्ज कोर क्षेत्रमा शुक्रबार बिहान गएको गस्ती टोलीले उक्त बाघलाई मृतावस्थामा फेला पारेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृतावस्थामा भेटिएको उक्त पाटेबाघको अवस्था हेर्दा केही दिनअघि नै मरेको अनुमान गरिएको छ । ‘बाघको पछाडिको भागलाई वन्यजन्तुले खाएको अवस्थामा गस्ती टोलीले फेला पारेको सूचना अधिकारी पँगेनीले बताउनुभयो ।
उहाँका अनुसार मृतावस्थामा भेटिएको उक्त पाटेबाघको उमेर १२ देखि १३ वर्षको हुन सक्ने अनुमान गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले पाटेबाघको मृत्यु प्राकृतिक रुपमा भएको बताउनुभयो ।
मृत फेला परेको पाटेबाघको फरेन्सिक जाँचका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट चिकित्सक टोली बाँके राष्ट्रिय निकुञ्ज आउँदै गरेको उहाँले बताउनुभयो ।
निकुञ्ज प्रमुख कँडेलले बाँके राष्ट्रिय निकुञ्जको गस्ती टोलीले प्रत्येक दिन निकुञ्जको कोर क्षेत्र र मध्यवर्ती क्षेत्रमा बिहान, दिउँसो र साँझ गस्ती गर्ने गरेको बताउनुभयो ।





