
नेपालगन्ज । नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा पोषण, स्वास्थ्य र कृषि सम्बन्धि सूचना प्रवाह गर्न सचेतनामूलक स्टल राखिएको छ । बालबालिकामा पोषणको महत्व, आवश्यकता लगायतको सन्देश प्रवाह गर्न महोत्सवभित्र ४२ र ४३ नम्बर स्टलमा सूचनामूलक सामाग्री राखिएको हो ।
स्टलले पोषणको सन्देशसँगै स्वास्थ्य तथा स्वच्छ उत्पादन सम्बन्धिसमेत सूचनामूलक सामाग्रीहरु राखिएका छन् । भेरी वातावरणीय बिशिष्टता समूह (बिग्रुप)ले मेलामा जाने दर्शकहरुलाई स्वास्थ्य र स्वस्थकरण खानेकुराको आवश्यकता बुझाउन स्टल राखेको संस्थाले जनाएको छ ।
संस्थाका पोषण परियोजना संयोजक बिद्यायक केसीका अनुसार बाँकेका विभिन्न पालिकामा यो परियोजना संचालनमा रहेको छ । ‘ग्रामीण भेगका समुदायमा हामीले पोषण तथा हरियो करेसाबारीको अवधारणबारे बुझाइरहेका छौं ।,’ संयोजक केसीले भन्नुभयो, ‘यसले बिकट क्षेत्रका अभिभावकलाई पोषणको आवश्यकता किन भन्ने कुरा बुझ्न सहज हुनेछ ।’
बाँकेको ग्रामीण समुदाय, खासगरी विभिन्न सुविधामा पहुँच नभएका र निम्न आय भएका हजार दिनको आमाहरुमा पोषणको अवस्था मजबुत बनाउन बिषादीरहित करेसाबारी, स्वास्थ्य र पोषणको महत्व बुझाउन बाँकेमा यो परियोजना संचालन गरिएको आइडिई नेपालका प्रोजेक्ट अफिसर बिनोद श्रेष्ठले जानकारी दिनुभयो ।
‘मेलाभित्र भएको स्टलमार्फत बिषादीरहित करेसाबारी र स्वस्थकर उत्पादनका लागि झोल र गड्यौला मलको प्रयोगका बारेमा जानकारी प्रदान गरिएको छ ।,’ श्रेष्ठले भन्नुभयो, ‘यसका साथै हातधुने, खानेपानीको स्वच्छता र पोषण, बच्चा वा आमाका लागि किन जरुरी भन्ने कुरा प्रवाह गरिरहेको छौं ।’
उहाँका अनुसार यो कार्यक्रमले बाह््रै मास करेसाबारी गरी उत्पादन भएको स्वस्थ खानेकुरा खाने र त्यसपश्चात बचेको उत्पादन बेचेर आम्दानी गर्न सकिने तथा जिल्लामा कुपोषणको दरमा न्युनिकरण गर्नु हो । केयर नेपाल, आइडिई नेपाल र म्याप इन्टरनेशनलको साझेदारीमा बिग्रुपमार्फत बाँकेको राप्तीसोनारी, डुडुवा, जानकी, खजुरा र बैजनाथ गाउँपालिकामा यो परियोजना संचालनमा रहेको छ ।





