
नेपालगन्ज । नेपालकै दोस्रो जेठो सामाजिक संस्था नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको २८ औं जिल्ला सभा तथा अधिवेशनले जनकराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार भएको अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अरुण प्रताप राणाले संस्थाको विधानको परिच्छेद उपदफा १८ अनुसार दर्ता भएको उम्मेदवारी बमोजिम निर्विरोध निर्वाचित हुनेहरुमा सभापति पदमा भण्डारी, उपसभापति पदमा रचना श्रेष्ठ, सचिवमा बसन्त लामिछाने, कोषाध्यक्षमा श्यामसुन्दर अधिकारी, सह–सचिवमा सन्ध्या शर्मा रहनु भएको छ ।
त्यसैगरि सदस्यहरुमा शीला शाह, पूर्णलाल चुके, सुश्री ज्ञानु श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, प्रहलाद विश्वकर्मा र प्रशान्त श्रेष्ठ रहनु भएको छ । अधिवेशनले स्वास्थ्य विशेषज्ञ स्वास्थ्यकर्मीमा सेमराज शाक्यलाई चयन गरेको छ भने पदेन सदस्यमा निर्वतमान सभापति बदरुद्दीन अन्सारीसमेत १३ सदस्यीय कार्यसमिति रहेको छ । यस्तै सल्लाहकारमा सुश्री शान्ति श्रेष्ठ, डा.ज्ञानकुमार वर्मा, डा.सुभाष योगी, सुन्दरलाल शाक्य, डा.विजय प्रधानलाई मनोनयन गरिएको छ ।
केन्द्रीय प्रतिनिधिको रुपमा सहभागी संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राणाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य डा.धवल शम्शेर राणाले अधिवेशनको उद्घाटन गर्नु भएको थियो ।
सो अवसरमा विशिष्ठ अतिथि लुम्बिनी प्रदेशका सभासद् मीना श्रेष्ठ, संस्थाका केन्द्रीय सदस्य सेमराज शाक्य, पूर्व शाखा अध्यक्षद्वय सुश्री शान्ति श्रेष्ठ, पूर्ण लाल चुकेले आआफ्नो धारणा राख्नु भएको थियो । सहसचिव रचना श्रेष्ठले सञ्चालन गरेको उक्त अधिवेशेनको उद्घाटन शत्रमा शाखा सचिव नरेन्द्र श्रेष्ठले वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
दुबै प्रतिवेदन बन्द सत्रमा सर्वसम्मत रुपमा पारित गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि साँसद् राणा र विशिष्ठ अतिथि लुम्बिनी प्रदेशका सभासद् श्रेष्ठले संस्थाका करीब एक दर्जन आजीवन सदस्यहरुलाई आजीवन सदस्यताको प्रमाण पत्र वितरण गर्नु भएको थियो ।





