
नेपालगन्ज । आदर्श मावि राँझा, ग्रिनपिस स्कुल कोहलपुर र आदर्श मावि नेपालगन्जले मेयर कप अन्तर विद्यालय जिल्ला स्तरीय छात्र फुटबल प्रतियोगितामा आइतबार जित हासिल गरेका छन् ।
नेपालगन्ज रंगशालामा भएको पहिलो खेलमा आदर्शले जय बागेश्वरी स्कुललाई ३-२ ले पराजित गरेको छ । आदर्शको जितमा खगेन्द्र थापाले २ गोल र आकास सुनारले १ गोल गर्नुभयो ।
प्लेयर अफ द म्याचको ट्रफी जित्न सफल खगेन्द्रले २३ औं र ३१ औं मिनेटमा गोल गर्नु भएको थियो भने आकाशले १४ औं मिनेटमा गोल गर्नु भएको थियो । जय बागेश्वरीको तर्फबाट करण शाहीले २५ औं मिनेट र विवेक चौधरीले २० औं मिनेटमा गोल गर्नु भएको थियो ।
प्लेयर अफ द म्याच खगेन्द्रलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका जनक केसीले ट्रफी प्रदान गर्नु भएको थियो । दोस्रो खेलमा दिपेश भण्डारीले निर्णायक गोल गरेपछि ग्रिनपिसले मुनतारा स्कुल राँझलाई १-० ले पराजित गरेको छ । प्लेयर अफ द म्याच दिपेशले खेलको ५८ औं मिनेटमा गोल गर्नु भएको थियो ।
दिपेशलाई नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष वरिष्ठ पत्रकार निरज गौतमले ट्रफी प्रदान गर्नु भयो । यसैगरी तेस्रो खेलमा आदर्शले पेनाल्टी सुटआउटमा सेन्ट थोमस स्कुललाई ३-१ ले पराजित गरेको थियो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएको थियो ।
पेनाल्टी सुटआउटमा आदर्शको लागि सन्दिप बुढा, रोशन घर्तिमगर र सक्षम थापा मगरले गोल गर्नु भएको थियो । सेन्ट थोमसको लागि अमन केसीले मात्र गोल गर्न सक्नु भयो । खेलको प्लेयर अफ द म्याच राकेश चौधरीलाई पुर्व राष्ट्रिय फुटबल खेलाडी एवम् एनजिओ फेडरेशन बाँकेका पुर्व अध्यक्ष तेजबिक्रम शाहले पुरस्कृत गर्नु भयो ।
आइतबारको चौथो खेल धम्बोझी मावि र आदर्श विद्या सदनबिचको खेल कमजोर प्रकाश ‘भिजिबिलीटी’ का कारण गोलरहित बराबरी अवस्थामा स्थगित गरिएको छ । स्थगित खेल सोमबार बिहान खेलाईने आयोजक टिमले जनाएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको छात्रतर्फ २१ टिमको सहभागिता रहेको छ ।
फागुन ३ गतेसम्म चल्ने प्रतियोगितामा छात्रतर्फ सोमबार दोस्रो खेल मोर्डन पब्लिक स्कुल र जीवन ज्योतीबिच हुनेछ । तेस्रो खेल मंगल प्रसाद मावि र युनाइटेड एजुकेशनबिच हुनेछ भने चौथो खेल होप इन्टरनेशनल र ब्राइटल्याण्डबिच हुनेछ । पाँचौं खेल मनकामना मावि र सगरमाथा स्कुलबिच हुने आयोजकले बताएको छ ।





