
नेपालगन्ज । महिलाहरुलाई प्रोत्साहित, अवसर र प्लेटफर्म जस्ता कुराहरुलाई दिँदै आएको महिला उद्यमी संघ नेपाल, बाँकेले फाल्गुन ६ देखि नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी गर्ने भएको छ ।
संघले संघले हरेक वर्ष झैं यस वर्षपनि फाल्गुन ६ देखि १० गतेसम्म नेपालगन्जमा प्रदेशस्तरीय प्रदर्शनी गरिने तय गरिएको आइतबार पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा जानकारी दिएको छ । प्रदर्शनीलाई भब्य बनाउन विभिन्न उपसमितिहरु गठन गरिसकिएको कार्यक्रम संयोजक एवं संघका अध्यक्ष साबित्रा बस्नेतले जानकारी दिनुभयो ।
ग्रामीण तथा शहरमा भएका महिलालाई आफ्नो सीप, क्षमता र स्थानीय बस्तुको प्रयोग गर्दै उद्यमशील बनाउने लक्ष्यसहित प्रदर्शनीको आयोजना गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो । उहाँका अनुसार प्रदर्शनीमार्फत महिलाले उत्पादन गरेका बस्तु तथा उत्पादनहरुको प्रवद्र्धन र बजारीकरणका लागि अवसर सिर्जना गर्ने विश्वास गरिएको छ ।
नवौं प्रदर्शनी रहेको यस पटकको कार्यक्रम पनि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर पसिरको चिल्डे«न पार्कमा प्रदर्शनी हुनेछ । प्रदर्शनीमा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्यूठान, रोल्पा, पूर्वी रुकुम, सल्यानलगायत जिल्लाबाट आएर महिलाले आफ्नो उत्पादन प्रदर्शनीमा राख्ने बताइएको छ । प्रदर्शनीमा करिव ६० वटा स्टलमा एक सय ५० भन्दा बढी उद्यमीले आफ्नो उत्पादनको बिक्री तथा प्रचार प्रसार गर्ने संघका प्रथम उपाध्यक्षसमेत रहनुभएकी प्रदर्शनी संयोजक रेवती सिंहले बताउनुभयो ।
मस्यौरा, अल्लोबाट बनेको सामान, बेतको सामान, खुकुरी, भाँङ, स्थानीय उत्पादन बेसार, अचार, मह, हातले बनाइएका जुत्ता, थाकल, ढाकाको कपडा, काँसका सामान, हस्तकलाका सामान, तोरीको तेल, अण्डालगायत बस्तु प्रदर्शनीमा रहने संयोजक सिंहले बताउनुभयो । यस पटकको प्रदर्शनीलाई थप प्रभावकारी बनाउन यसपटक तीन वटा फरक कार्यक्रम आयोजना गर्ने तयारी भएको छ ।
प्रदर्शनीको दौरानमा फाल्गुन ७ गते महिला उद्यमी उत्प्रेरणा कार्यक्रम गरिने छ । यसमा महिला उद्यमीको संभावना र चुनौतीका विषयमा सरोकारवाला र विज्ञसंग संवाद हुनेछ । फाल्गुन ८ गते युवा उद्यमशीलता र स्वरोजगार उत्प्रेरणा कार्यक्रम र फाल्गुन ९ गते सफल महिला उद्यमीको अनुभव आदान प्रदान र सम्मान कार्यक्रम गर्ने तयारी भएको छ ।
प्रदर्शनी अवलोकन गर्न आउने महिलाहरुलाई पनि उद्यमी बन्न प्रदर्शनीले अभिप्रेरित गर्ने गरेको छ । अनुमानित १५ लाख बजेट आवश्यक पर्ने प्रदर्शनीको मुख्य प्रायोजकको रुपमा केएल दुगड रहेको छ भने घरेलु तथा साना उद्योग विभाग बाँकेले सहयोग गरेको छ । यसैगरी बाँकेका स्थानीय तहले आर्थिक सहयोग गर्ने प्रतिवद्धता गरेको संघले जनाएको छ ।
प्रदर्शनीको अर्को महत्वपुर्ण आकर्षणको रुपमा नेपालगन्जको परम्परागत तथा रैथाने परिकारहरुलाई प्रवद्र्धन गर्नको लागि स्टलहरु राखिने छ । जहाँ नेपालगन्जको विभिन्न समुदायका महिलाहरुले बनाउनु भएका परिकारहरु बिक्रीको लागि राखिने संघकी लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले बताउनुभयो । पाँच दिन सम्म चल्ने प्रदर्शनीमा करिब १५ हजारले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।





