
खजुरा । बाँकेको खजुरा गाउँपालिकाको आइतबार प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । निर्माणकै क्रममा रहेको गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयको प्रशासनीक भवनमा पसिरमा औपचारिक कार्यक्रम गर्दै सार्वजनिक सुनुवाई गरिएको हो ।
सार्वजनिक सुनुवाईमार्फत गाउँपालिकाले सात बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । गाउँपालिकाले जारी गरेको सार्वजनिक प्रतिबद्धतामा बाटोघाटो निर्माणमा तिब्रता दिइने, सबै कार्यालयमा नागरिक वडापत्र राखिने लगायतका छन् । कार्यक्रममा गाउँपालिकाले गर्नुपर्ने बिशेष बिशेष कार्यहरुका बारेमा स्थानीयले सुझाएका थिए ।
स्थानीयको सुझाव तथा गुनासोपछि गाउँपालिका अध्यक्ष डम्बर बिकले कार्यक्रममा उठेका प्रश्नहरुको गुनासो सम्बोधन गर्नुभएको थियो । उहाँले गाउँपालिकाले हरेक क्षेत्रका निम्ति कार्यहरु गरिरहेको बताउनुभएको थियो ।
पछिल्लो समय पालिकाको हरेक जनतासँग प्रत्यक्ष जोडिएको क्षेत्रमा आवश्यक कार्यक्रमहरु बिनियोजन गरेर कार्यान्वयनमा ल्याइएको अध्यक्ष बिकले उल्लेख गर्नुभएको थियो ।
गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले स्वागत गर्नुभएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले हालसम्मको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
खजुरा गाउँपालिकाको समन्वयमा कोहलपुरस्थित उत्पिडित सामुदायिक विकास केन्द्रले कार्यक्रमको सहजीकरण गरेको हो ।





