
नेपालगन्ज । नेपालगन्जमा शनिबार भएको कार्यक्रममा ५६ जना स्वयंसेवी रक्तदान गरेका छन् । जानकी गाउँपालिका वार्ड नम्बर ३ को आर्थिक सहयोगमा समृद्धि फाउण्डेसन नेपाल बाँकेको आयोजनामा जानकी ३ नम्बर वडा कार्यालय परिसरमा फाउडेशनका अध्यक्ष महेश कुमार चौधरीको अध्यक्षता, जानकी ३ का वडाध्यक्ष राज कुमार वर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ५६ जनाले रक्तदान गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा वडाअध्यक्ष बर्माले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । सो कार्यक्रममा शतक रक्तदाता १ सय ५६ पटक रक्तदान गर्नुभएका समाजसेवी नेपालगञ्ज उपमहानगरपालिका वार्ड नं.-६ निवासी गोपीनाथ बैश्य, नेपालगञ्ज-१९ निवासी १ सय २ पटक रक्तदान गर्नुभएका समाजसेवी, शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा नेपाल अधिराज्यमा पत्रकारहरुमा अधिकतम रक्तदान गर्न सफल पवन जायसवाल र ७६ पटक रक्तदान गर्नुभएका बाँके÷बर्दिया जिल्लामा उत्कृष्ठ महिला रक्तदाता नेपालगञ्ज-१० निवासी सरिता ज्ञवालीलाई प्रमुख अतिथि बर्मा, फाउण्डेसनका अध्यक्ष चौधरीले संयुक्त रुपमा खादासहित सम्मान–पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा स्वयंसेवी रक्तदाता समाज उपशाखा जानकी गाउँपालिका अध्यक्ष धर्मराज बर्मा, समाज बाँकेका कोषाध्यक्ष मनमोहन बर्मा, समाजसेवी तथा समाज बाँकेका सल्लाहकार माधवराम बर्मा, फाउण्डेसनका पदाधिकारी, ३ नं. वडा कार्यालयका कर्मचारी, स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, प्राविधिक सोम प्रकाश सापकोटा, होमराज गिरी, सोनिया माँझी, राधिका चौलागाई, सञ्जय बढही, बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गर्नुभएको थियो भने फाउण्डेसनका सचिव चिरञ्जिबी बुढाले कार्यक्रम संचालन गर्नुभएको थियो ।






