
नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाका युवाहरुले सन्तानेश्वर महादेवको मन्दिर दर्शन गर्न पुगेका भक्तजनलाई निःशुल्क पानी वितरण गरेका छन् ।
नरैनापुर गाउँपालिका वडा नम्बर ५ मा अवस्थित सन्तानेश्वर मन्दिर दर्शन गर्न पुगेका भक्तजनहरुलाई ६ नम्बर वडाकै स्थानीय युवाहरुले निःशुल्क पानी वितरण गरेका हुन् ।
महाशिवरात्रीको दिन बुधबार सन्तानेश्वर मन्दिर दर्शन गर्न जानेको भिड देखिएको थियो । महाशिवरात्रीको अवसर पारेर स्थानीय युवाहरुले सामाजिक कार्य हेतु पानी वितरण गरेको जनाएका छन् ।
स्थनीय निरन्जन मौर्य, टेक बहादुर रानालगायतको नेतृत्वमा भक्तजनलाई निःशुल्क पानी वितरण गरिएको अरुण यादवले जानकारी दिनुभयो । शिवरात्रीका दिन त्यहाँ पुगेका भक्तजनहरुलाई करिब पाँच हजार बोतल निःशुल्क पानी वितरण गरिएको हो ।
युवाहरुको सामाजिक कार्यमा नरैनापुर गाउँपालिकाका लेखा अधिकृत भरत बस्नेत र नेपालगन्ज न्यूरोडमा रहेको ब्लु मि: मोसा क्याफेले सहयोग गरेका थिए ।
पहाडको चुचुरोमा रहेको सन्तानेश्वर पुग्न पैदलका साथै मोटरसाईकल लिएर जान सक्ने सडक भएपनि कतिपय भक्तजन प्रवेशद्वारबाट नै पैदल यात्रा गर्ने गरेका छन् भने कतिले मोटरसाईकल लगायतका साधन माथि पहाडसम्म नै लिएर जाने गरेका छन् ।
साधन लिएर जानेले मन्दिर नजिक पुगेपछि भने साधन छोडेर केही मिनेटको पैदल पहाडको चुचुरो उक्लिएपछि बल्ल मन्दिर पुग्न सकिन्छ ।






