कम्दी करिडोरमा पाटे बाघ देखिए

फाइल तस्बिर

बाँके । बाँके राष्ट्रिय निकुञ्ज र कम्दी करिडोरका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा राखिएका क्यामेरामा पाटे बाघ र चितुवा देखिएका छन् ।

निकुञ्जका करिब ७० स्थानमा लगाइएका एक सय ६९ र कम्दी करिडोरमा लगाइएका ९५ क्यामेरामा बाघ र चितुवाको आवतजावत भएको देखिएको हो ।

निकुञ्जका सूचना अधिकारी मन्दिप पङ्गेनीले करिब ८० दिनसम्म लगाइएको क्यामेरामा पाटे बाघ र चितुवा देखिएको भन्दै अहिले क्यामेरा निकालिएको बताउनुभयो । ‘बाघ र आहार प्रजातिको अवस्था बुझ्न क्यामेरा लगाइएको थियो । अहिले यसलाई निकालेर विश्लेषण गर्न बाँकी छ’, उहाँले भन्नुभयो ।

पङ्गेनीले बाँके राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत सङ्घसस्थाको संयुक्त प्राविधिक टोलीले एक महिनाभित्र विश्लेषणको काम सकेपछि वास्तविक तथ्याङ्क बाहिर आउने उल्लेख गर्नुभयो ।

जिल्ला वन कार्यालयका प्रमुख शङ्करप्रसाद गुप्ताले कम्दी करिडोरको सामुदायिक तथा राष्ट्रिय वनमा दुई किलोमिटरको दूरीमा क्यामेरा जडान गरेर पाटे बाघ र चितुवाको अध्ययन भइरहेको जानकारी दिनुभयो । ती क्यामेरा करिडोरमा एक साता अघि लगाइएको थियो ।

उहाँले क्यामेरामा बाघ र चितुवा आवतजावत गरेको देखिएको उल्लेख गर्दै बाघ कुनकुन बाटोबाट हिड्छन् भन्ने जानकारी समेत प्राप्त भइरहेको बताउनुभयो ।

वन प्रमुख गुप्ताले जडान गरिएका क्यामेरा १५ दिनसम्म कम्दी करिडोरमा रहने जानकारी दिँदै क्यामेराबाट बाघ र आहारा प्रजातिको वास्तविक तथ्याङ्क आउने बताउनुभयो । ‘यसको विस्तृत तथ्याङ्क आएपछि प्राविधिक टोलीले विश्लोषण गर्नेछ र आगामी दिनका लागि योजना बनाइने छ’, उहाँले भन्नुभयो ।

यसअघि भएको गणनामा बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ रहेका पाइएको गुप्ताले जानकारी दिनुभयो । बाँके राष्ट्रिय निकुञ्ज विसं २०६७ मा स्थापना भएको थियो ।

एघार किसिमका दुर्लभसहित ३४ किसिमका स्तनधारी, ५० किसिमका दुर्लभसहित तीन सय किसिमका पन्छी, दुई किसिमका दुर्लभसहित २४ घस्रने, पाँच किसिमका दुर्लभसहित ५५ बढी प्रजातिका माछा प्रजातिका जीवजन्तु यहाँ रहेका निकुञ्ज कार्यालयले जनाएको छ। रासस

Previous articleविमानस्थलबाट तीन किलो बढी सुनसहित चार जना पक्राउ
Next articleनरैनापुरमा दुर्गा प्रसादको अध्यक्षमा जसपा नेपाल गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here