
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा पुनः अर्को बाटोको स्तरोन्नतीको कार्य सुरु भएको छ । नेपालगन्जका अन्य वडाभन्दा विकासका काममा अघि रहेको १८ नम्बरमा एक सातामै अर्को विकास निर्माणको कार्य सुरु गरिएको छ ।
वडा अध्यक्ष दिपककुमार बर्माले दुई सय मिटर सडक स्तरोन्नतीको कार्य संचालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार एक हप्तामा यो दोस्रो योजना कार्यान्वयनमा ल्याइएको छ । यसअघि चार दिन अघि मात्रै ७० लाखको लागतमा सडक निर्माणकै कार्य संचालन गरिसकिएको छ ।
सोमबार बर्दिया बाईपासस्थित बिशाल चौकदेखि बनिया गाउँ जाने सडक खण्ड अन्तरगत ५० लाख लागतमा दुई सय मिटर लामो सडक स्तारोन्नती कार्यको सुभारम्भ गरिएको छ । उक्त सडकको शिलान्यास टोल विकास समितिका अध्यक्ष जेष्ठ नागरिक टीकाराम कँडेलले गर्नुभएको थियो ।
६ दशमलय ५० मिटर सब बेस र ५ दशमलव ५० मिटर चौडाई रहने सडक अस्फाल्ट कालोपत्रे हुने वडाअध्यक्ष बर्माले बताउनुभयो । ठेकेदार कम्पनीले पौष मसान्तसम्म कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको पनि वडाअध्यक्ष बर्माले बताउनुभयो ।





