अवैध ओसारपसारमा संलग्न थप तीन टिप्पर प्रहरी नियन्त्रणमा

फाइल तस्बिर

नेपालगन्ज । राप्ती नदीबाट दोहन गरी फर्किरहेको तीन वटा टिप्परलाई बुधबार राती बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले दुई वटा टिप्पर नियन्त्रणमा लिएको भोलिपल्ट नै डुडुवा गाउँपालिकास्थित हुलाकी राजमार्गबाट थप तीन वटा टिप्पर नियन्त्रणमा लिएको हो ।

राप्ती नदीबाट लोड गरेर फर्किरहेका तीन वटा टिप्परसँग विल चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिइएको शसस्त्र प्रहरी बल खडैचाका प्रहरी निरीक्षक आसकुमार कुम्हालले जानकारी दिनुभयो ।

‘राप्ती पुल वारी चेकजाँचका क्रममा स्थानीयसँग विवाद भएको थियो ।,’ प्रहरी निरीक्षक कुम्हालले भन्नुभयो, ‘क्रममा एउटा गाडीको बिल देखाइयो, त्यसमा पनि केरमेट भएको देखिन्थ्यो, पछि प्रहरीलाई जिम्मा लगाइएको हो ।’

ती टिप्परलाई प्रहरीले डुडुवा गाउँपालिकास्थित राप्ती पुल वारीबाट नियन्त्रणमा लिएको जनाएको छ । राती टिप्परका चालक, स्थानीय र गाउँपालिकाका कर्मचारीबीच विवाद भइरहेको बेला आफुहरु पुगेर गाडी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कम्दीका इन्चार्ज मोहन केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाडी चालकहरुले पहिला सामानको बिल नदेखाएका थिएनन् । आफुहरु पुगेपछि बिल देखाएका थिए । २ वटा गाडीमा ग्रावेल र १ वटामा बालुवा लोड थियो । विवाद भएपछि र बिलमा केरमेट भएको देखिएपछि गाडी नियन्त्रणमा लिएर राजश्व अनुसन्धानमा बुझाएको इन्चार्ज केसीले बताउनुभयो ।

प्रहरीले भे १ क २२६३, २२८९ र १६७५ नम्बरको टिप्पर नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको र थप कारवाही उतैबाट हुने प्रहरीले जनाएको छ ।

बाँकेमा हाल नदीजन्य पदार्थ उत्खननको ठेक्का प्रक्रिया सुरु भएपनि कुनैपनि सवारी साधनले रातमा ढुवानी गर्न नपाइने प्रावधान रहेको छ । यस्तो अवस्थामा रातमा बिलसहित नदीजन्य पदार्थ लिएर आएको सवारी साधनलाई सुरक्षाकर्मी वा सम्बन्धित निकायले रोक्न सक्ने बताइएको छ ।

Previous articleसामाजिक सञ्जाल विधेयक : बृहत र गम्भीर छलफल गर्न माग
Next articleशम्सेरगन्जमा कालोपत्रे सडक निर्माण कार्य शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here