
बर्दिया । मधुवन नगरपालिका वडा नम्बर ४ लाई बालविवाह मुक्त घोषणा गरिएको छ । पालिकाले वडा नम्बर ४ लाई शनिबार बालविवाह मुक्त घोषणा गरेको हो ।
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले एक कार्यक्रमबीच उक्त वडालाई बालविवाहमुक्त घोषणा गर्नुभएकाे हाे । वडा नम्बर ४ पालिकाकै पहिलो बाल विवाह मुक्त वडाको रुपमा घोषणा भएको छ ।
समुदायमा सामाजिक समस्याको रुपमा रहेको बाल विवाह अन्त्यका लागि हातेमालो गर्न तयार रहेको प्रदेश सरकार प्रतिबद्ध रहेकाे उहाँले बताउनुभयाे । सरकार, राजनीतिक दल, संघसंस्था तथा समुदायमा रहेको सम्पुर्ण संयन्त्रहरु एकजुट भएर बाल विवाहको बिरुद्धमा उभिए पक्कै पनि बाल विवाह अन्त्य गर्न सकिने उहाँको विश्वास छ ।
प्लान इन्टरनेशन नेपाल र भेरी वातावरणीय बिशिष्टता समुह (बि-ग्रपु) बाँकेले बिगत ३ बर्षदेखि मधुवन नगरपालिकामा बालविवाह न्युनिकरण परियोजनामार्फत बिभिन्न सामाजिक अगुवाहरुको पहलमा सचेतनामूलक कार्यक्रम तथा घर-घर पुगेर सर्भे गरी प्राप्त तथ्यका आधारमा घोषणा कार्यक्रम भएको हो ।
कार्यक्रममा स्वागत मन्तब्यमा बोल्दै मधुवन नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बलिराम चौधरीले मधुवन नगरपालिकाले बनाएको बालविवाह सम्बन्धि निर्देशिका अनुसार वडालाई बाल विवाह मुक्त घोषणा गरिएको बताउनुभयो ।
सन् २०३० सम्म नेपाललाई बाल विवाह मुक्त बनाउने राष्ट्रिय रणनीति अनुसार मधुवन नगर पालिकालाई वि.स. २०८३ सम्ममा बाल विवाह मुक्त पालिका बनाउने कार्ययोजना अन्तरगत पहिलो चरणमा वडा नम्बर ४ लाई बाल विवाह मुक्त घोषणा गरिएको बि-ग्रपुका कार्यक्रम प्रबन्धक भानु लिम्बुले बतााउनुुभयाे ।
मधुवन नगरपालिका उपप्रमुख अनिता चौधरीकाे अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न समूह संजालबाट सचेतनामुलक साँस्कृतिक झाँकी, कलाकारहरुको कला प्रस्तुति, बाल विवाह न्युनिकरण अभियानको समर्थनमा ब्यानरहरु राखिएको थियो । साथै सहयोगी संस्था प्लान, बि-ग्रुप बाँकेलाई सम्मान समेत गरेको छ ।






