काँग्रेस खजुराले माओवादीसँगको कार्यगत एकता तोड्यो

नेपालगन्ज । नेपाली काँगे्रस खजुरा गाउँपालिकाले स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीसँग गरेको कार्यगत एकता तोडेको छ । माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्षले एक्लौटी निर्णय तथा कार्यहरु गर्न थालेपछि पार्टीले माओवादीसँगको कार्यगत एकतालाई तोडेको जनाएको छ ।

नेपाली काँग्रेस खजुरा गाउँपालिकाको सोमबार बसेको बैठकले पार्टीसँग गरेको एकतालाई टुंग्याउने निर्णय गरेको हो । खजुराका निर्वाचित गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिकले पालिकाका हरेक कार्य तथा निर्णयहरु एकलौटीरुपमा मनपरी गर्न थालेकाले पार्टीसँग गरिएको एकतालाई टुंग्याइएको काँग्रेस खजुरा गाउँपालिका सभापति रमेश सिजालीले जानकारी दिनुभयो ।

‘हामीले माओवादी पार्टीसँग विगतमा भएको एकतालाई तोडेका छौं,’ गाउँपालिका सभापति सिजालीले भन्नुभयो, ‘गाउँपालिका अध्यक्षले मनमानी गर्न थालेपछि कार्यगत एकतालाई टुंग्याउने निर्णय ग¥यो ।’ उहाँका अनुसार स्थनीय तहको निर्वाचनमा निर्वाचित भएदेखि नै गाउँपालिका नेतृत्वबाट सार्वजनिक रुपमा गरिएका प्रतिबद्धतालाई वेवास्ता गरिएको छ ।

आफुहरुले पटक पटक निर्वाचनका प्रतिबद्धता कार्यान्वयनतर्फ उन्मुख हुन सुझाव दिँदा पनि माओवादीबाट निर्वाचित उम्मेदवारले बारम्बार आफुखसी गर्दै वेवास्ता गरिएपछि यो एकतालाई आजैका मितिबाट तोडेको सभापति सिजालीले बताउनुभयो । सर्वसाधारण जनतासँग गरिएका प्रतिबद्धता कार्यान्वयनमा नेतृत्वले ध्यान नदिएको देखिएको पार्टीको निष्कर्ष छ ।

पालिकाका निर्णयहरुमा पार्टीको कार्यगत एकता अन्तर्गत समन्वय सहकार्य गर्नुपर्ने भएपनि त्यस्तो नगरिएको र यो सहमति जारी राख्नुपर्ने आवश्यकता नरहेको निष्कर्ष निकाल्दै गठबन्धनको गाँठो फुकाएर अलग भएको सभापति सिजालीको भनाई छ ।

बैठकमा काँग्रेस बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नकी खाँ, जिल्ला सदस्य भीम विश्वकर्मा र आमन्त्रित जिल्ला सदस्य अर्जुन सिंह पाण्डे, काँग्रेस खजुरा गाउँपालिकाका सम्पूर्ण वडा सभापति र पालिका सदस्यहरुको उपस्थितिमा यस्तो निर्णय गरेको पार्टीले जनाएको छ ।

Previous articleमधुवन नगरपालिका वडा नम्बर ४ बाल विवाहमुक्त घोषणा
Next articleबाँकेमा बढ्दैछ नसर्ने रोगको जोखिम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here