बाँकेमा बढ्दैछ नसर्ने रोगको जोखिम

नेपालगन्ज । बाँकेमा नसर्ने रोगको स्थित भयावह बन्दै गएको छ । जिल्लामा पछिल्लो समय नसर्ने रोगबाट ग्रसित हुनेहरुका संख्या दिनप्रतिदिन बढ्दै गएको छ । बढ्दो आधुनिकीकरण, शहरीकरण, घट्दो शारीरिक सक्रियता र अस्वथ खानपिनका कारण यस्ता समस्याबाट मानिसहरु ग्रसित हुँदै गएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

जिल्लामा हरेक वर्ष नसर्ने रोगका बिरामीहरूको संख्या बढिरहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताउनुभयो । बढ्दो अस्वस्थकर खानपिन, सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोग, बढ्दो वायु प्रदूषण, मदिराजन्य पदार्थको प्रयोग, शारीरिक निस्क्रियता जस्ता कुराहरु बढेसँगै यसखालेको समस्याले जरा गाड्दै गएको उहाँको भनाई छ ।

मानिसको व्यस्तता सबैतिर बढेको छ, जसले गर्दा उसले जुनसुकै काम समयमा भ्याउन सकिरहेको छैन ।, प्रमुख पौडेलले भन्नुभयो, त्यही अनुसार खानपिन, उठबस, सुताई जस्ता कुराहरुको पनि तालमेल बढ्दै गएको छ । र यही समस्याले मानिसहरुमा यस्ता रोगहरुले ठाउँ बनाउँदै गएका छन् ।

प्रमुख पौडेलले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्नका लागि गुणस्तरीय स्वास्थ्यमा पहुँच वृद्धि गर्नुपर्ने, स्वास्थ्य सेवालाई सर्वसुलभ गर्नुपर्ने, आर्थिक संरक्षण गर्नुपर्ने, स्वास्थ्य करमा वृद्धि गर्नुपर्ने उल्लेख गर्नुभयो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश बाबु श्रेष्ठले विश्वभर धेरै किसिमका नसर्ने रोगहरू बढिरहेको बताउँदै सो रोगका कारण मानव समुदायलाई प्रत्यक्ष प्रभाव पारिरहेको बताउनुभयो ।

नेपालमा पनि पछिल्लो दशकमा दमखोकी, हृदयघात, पक्षघात, कलेजोसम्बन्धी रोग, मानसिक रोग, मृगौलासम्बन्धी रोगका बिरामीहरू बढिरहेको चर्चा गर्दै ती रोगहरू नियन्त्रणका लागि व्यक्ति स्वयम् सचेत हुनुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर स्थानीय तहहरुले आवश्यक नीति बनाउनुपर्ने बताउनुभयो ।

उहाँले नसर्ने रोगले भयावह स्थिति पैदा गरेकोप्रति समयमै ध्यान दिनुपर्ने धारणा राख्नुभयो । स्वास्थ्य कार्यालयको तथ्याँक अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा बाँकेमा उच्च रक्तचापका २९४९ जना, मधुमेहका १९९३ जना, क्यान्सरका ११५ जना, मृगौला रोगका २११ जना, श्वास प्रश्वासका १०८९ जना र कलेज रोगका ३२ जना बिरामी देखिएका छन् ।

यस्तै मानसिक समस्या १६२ जना, आत्महत्या प्रयास ५ जना, चिन्ताका २२०५ जना, कन्भर्जन डिसअर्डरका ३१ जना र ३ जना अल्कोहलिक देखिएका छन् । यसैगरी पछिल्लो ६ महिनामा सडक दुर्घटनामा २०७ जना घाइते भएको जनस्वास्थ्य अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ४० वर्षमाथि उमेर भएकाहरुमा कार्यक्रममार्फत १०२४ जनामा गरिएको परीक्षणबाट १०७ जनामा मधुमेह, ३५१ जनामा रक्तचाप, १९ जनामा मृगौला रोगको समस्या देखिएको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा मृगौलाका ७४, मुटुका १२७, क्यान्सरका २९६, स्पाईनल इन्जुरीका ११, सिकलसेल एनिमियाका २६, पार्किन्सन्सका २ जना गरी ५२५ जनालाई विपन्न नागरिक उपचार कोषमार्फत निःशुल्क सेवा लिन सिफारिस गरिएको छ ।

Previous articleकाँग्रेस खजुराले माओवादीसँगको कार्यगत एकता तोड्यो
Next articleनमुना समाज विकास केन्द्रको भवन निर्माण कार्यको शिलान्यास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here