
बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा नमुना समाज विकास केन्द्रले आफ्नो भवनको निर्माण कार्य सुरु गरेको छ । उक्त भवनको सोमबार लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले शिलान्यास गर्नुभएको छ । भवन निर्माणमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग रहेको छ । सो क्रममा बोल्दै मन्त्री तिमिल्सेनाले विकास निर्माणका काम क्रमिक रुपमा हँुदै जाने बताउनुभयो ।
जनप्रतिनिधिको दायित्व नै विकास गर्ने भएको बताउँदै उहाँले जनताको सेवक भएपछि जनप्रतिनिधीले जनताको पक्षमा काम गर्नुपर्ने धारणा राख्नुभयो । यस्तै संविधानविरुद्ध भइरहेका कार्यहरुप्रति दलहरु एकजुट हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले शिक्षाको गुणस्तर सुधार्न आफू लागिपरेको बताउँदै लुम्बिनीमा ८० हजारले परीक्षा दिँदा ३१ हजार मात्र पास भएको बताउँदै धेरै संख्यामा विद्यार्थी फेल हुने कारण खोज्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले सामाजिक विकासमा संघ, संस्थाको योगदान महत्वपूर्ण रहने बताउनुभयो । सामाजिक काम गर्ने संस्थालाई सरकारले उचित मुल्याँकन गर्न आवश्यक रहेको उहाँको भनाई छ । यस्तै बैजनाथ गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष देवबहादुर रावतले विकास केन्द्र पछिल्लो समयमा सक्रिय सामाजिक संस्थाको रुपमा चिनिएको बताउनुभयो । संस्थाका अध्यक्ष टिकाराम रिजालले २०६५ सालमा स्थापना भएको संस्थाले समाज परिवर्तनका लागि निरन्तर काम गरिरहेको बताउँदै संस्थाको भवन निर्माणका लागि प्रदेश सरकारले १० लाख रुपैयाँ सहयोग गरेको बताउनुभयो ।
बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, वडा नम्बर ३ का वडाअध्यक्ष निखिल बैगार, वडा नम्बर ४ का अध्यक्ष प्रेम बहादुर शाही, वडा नम्बर ६ का वडाअध्यक्ष भुपाल पुन मगर, वडा नम्बर ८ का वडाअध्यक्ष भगन थारु, नेपाली कांग्रेस बैजनाथका सभापति देवबहादुर केसी, नेकपा एमाले बैजनाथका अध्यक्ष मनबहादुर खत्री, सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख उद्धव श्रेष्ठ, विभिन्न समाजसेवी, संघ, संस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।





