
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ को दैलेखी बंगलामा वडा कार्यालय भवन निर्माणको शिलान्यास गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, वडा अध्यक्ष सुनिलसिंह हमाल लगायतले बुधबार भूमीपुजनसहित शिलान्यास गर्नुभयो ।
सो अवसरमा नगर प्रमुख राणाले ६ महिनाभित्रै भवन निर्माण सक्ने गरि काम गर्न उपभोक्ता समितिलाई आग्रह गर्नुभयो । उहाँले उप–महानगरपालिकाबाट आवश्यक सहयोग गर्ने बताउनुभयो । वडा अध्यक्ष हमालका अनुसार भवन निर्माणका लागि वडाले ५० लाख रुपिया बजेट विनियोजन गरेको छ । वडाको छुट्टै प्रशासनिक भवन निर्माण गर्न लागिएको हो ।
वडा कार्यालयसँगै बर्थिङ सेन्टर सहितको स्वास्थ्य भवन निर्माणको अन्तिमचरणमा रहेको छ । भवनका लागि संघीय सरकार लगायतबाट सहयोग प्राप्त हुने वडा कार्यालयले बिश्वास ब्यक्त गरेको छ ।





